• २६ वैशाख २०८१, बुधबार

आधारभूत तहको नतिजा कमजोर

blog

कपिलवस्तु समाचारदाता 

कपिलवस्तु, वैशाख २ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको आधारभूत तहको नतिजा कमजोर आएको छ । यहाँ सामुदायिक विद्यालयतर्फ ६ दशमलव ५५ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । नगरपालिकाले प्रकाशन गरेको परीक्षाफलअनुसार सामुदायिक र संस्थागत विद्यालयका ८९ प्रतिशत विद्यार्थी फेल भएका हुन् । 

आधारभूत तह परीक्षा सञ्चालन समितिले प्रकाशन गरेको नजिताअनुसार पालिकाभर १५७ विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । कक्षा ८ मा अध्ययनरत एक हजार ४८८ विद्यार्थीमध्ये एक हजार ४२० जना सहभागी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत लीलबहादुर राउत क्षेत्रीले बताउनुभयो । 

निजी विद्यालयबाट सहभागी १८५ जनामध्ये ७६ जना उत्तीर्ण भएका छन् । पालिकामा सात निजी विद्यालयबाट परीक्षामा सहभागी भएका थिए । निजी विद्यालयको उत्तीर्ण दर ४१ प्रतिशत छ । सामुदायिक विद्यालयबाट एक हजार २३५ विद्यार्थी सहभागी थिए । तीमध्ये ८१ जना मात्र उत्तीर्ण भएका छन् । 

पालिकाका कक्षा ८ सञ्चालन भएका २५ विद्यालयमध्ये सात विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण भएका छन् । दुई विद्यालयबाट एक एक जना मात्र उत्तीर्ण भएका छन् । ती विद्यालय सामुदायिक विद्यालय रहेका छन् । गब्दहवा, जनज्योति वीरपुर, नेपाल राष्ट्रिय मोर्मा, नेपाल राष्ट्रिय मावि चौरी, सरस्वती झुसिया, पूmलकली मावि मानपुर, त्रिशक्ति आवि बोक्टापुरका सबै विद्यार्थी अनुत्तीर्ण भएका छन् । भृकुटी मावि बुड्ढी र मावि निमडाँडा हरिहरपुरबाट एक एक जना उत्तीर्ण भएका छन् ।  सामुदायिक विद्यालयको उत्तीर्ण दर अति न्यून भएपछि पालिकाको शिक्षाको अवस्था धेरै खस्किएको स्थानीय नागरिक अगुवा थानेश्वर अर्यालले बताउनुभयो । 

चार विद्यालयको नतिजा शून्य 

देउखुरी समाचारदाताका अनुसार दाङको गढवा गाउँपालिकाअन्तर्गतका चारवटा सामुदायिक विद्यालयको कक्षा ८ को नतिजा शून्य आएको छ । 

सामुदायिकतर्फ कक्षा ८ को परीक्षामा १४ विद्यालयका ७४३ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । चारवटा विद्यालयको नतिजा शून्य छ । कक्षा ८ को परीक्षामा सामुदायिक विद्यालयबाट सहभागीमध्ये जम्मा ६६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । संस्थागत विद्यालयतर्फ सहभागी सातवटा विद्यालयका २०३ विद्यार्थीमध्ये ११० विद्यार्थी उत्तीर्ण भएका छन् । संस्थागततर्फ उत्तीर्ण प्रतिशत जम्मा ५४ छ । सामुदायिकतर्फ नाम चलेका र ठूला विद्यालयको नतिजा शून्य देखिएको छ । 

माध्यमिक विद्यालय गोवरडिहाका १२८ विद्यार्थी परीक्षामा सहभागी थिए । तीमध्ये कक्षा ८ को नतिजा शून्य छ । आधारभूत विद्यालय मनिकापुर, आधारभूत विद्यालय कक्रहवा, आधारभूत विद्यालय वालाखुट्टीको नतिजा पनि शून्य छ ।

गाउँपालिकाले कक्षा ८ को परीक्षा आफँै सञ्चालन गरेको थियो । परीक्षा सञ्चालन गर्न होम सेन्टर खारेज गरिएको थियो । सामुदायिक र संस्थागत विद्यालयको संयुक्त रूपमा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।  गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम विश्वकर्माले भन्नुभयो, “वास्तविक अवस्था पत्ता लगायौँ, अब नतिजा सुधार र सिकाइ अभिवृद्धिमा ध्यान केन्द्रित गर्छौं । विद्यार्थी कमजोर हुनुमा विद्यालय, शिक्षक मात्रैको कमजोरी होइन; स्वयं विद्यार्थी र अभिभावकको समेत ध्यान नपुग्दा पढाइ कजोर भएको हो ।” 

गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले कक्षा ८ को परीक्षालाई प्रस्थान बिन्दु मानेर शैक्षिक गुणस्तर अभिवृद्धिको योजना सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी कक्षा चढ्ने तर उसको क्षमताले कक्षा नचढ्ने अवस्था देखियो । समस्या पत्ता लागिसकेपछि अब सुधारका लागि सबैले ध्यान दिनुपर्छ भन्ने बोध भएको छ ।”