• १५ वैशाख २०८१, शनिबार

तिलगंगा आँखा अस्पताललाई अन्तर्राष्ट्रिय उपचारको हब बनाउन माग

blog

राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद मदनकुमारी साह गरिमा ।

काठमाडौं, चैत २१ गते । राष्ट्रिय सभाका सांसद मदनकुमारी साह गरिमाले तिलगंगा आँखा अस्पताललाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ ।

मङ्गलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँले सरकारले आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग गर्नुपर्ने आवश्यकता पनि औँल्याउनु भयो ।

बहराइन सरकारको मानवीय सेवाका लागि प्रदान गरिने इसा अवार्डबाट सम्मानित हुनु भएका तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुईतप्रति बधाई ज्ञापन गर्दै उहाँले विश्वमा आफ्नो योग्यता र सेवाबाट नेपाललाई चिनाउनु भएको उल्लेख गर्दै सो कार्य सबै नेपालीका लागि गर्वको विषय भएको पनि स्पष्ट पार्नु भयो ।

सांसद साहले भन्नुभयो, ‘बहराइन सरकारको प्रतिष्ठित इसा अवार्डबाट सम्मानित हुनु भएको डा. सन्दुक रुइत हार्दिक बधाई ज्ञापन गर्दछु । विश्वमान चित्रमा नेपाललाई योग्यता र सेवाभावबाट चिनाउनु भएकोमा डा. रुइतमाथि हामी गर्व गर्दछौँ । यस अनुकरणीय कार्यका लागि डा. रुइतप्रति आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु । आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग र तिलगंगा आँखा अस्पताललाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउन आर्थिक वर्ष २०८०/८१ मा समावेश गर्न सरकारसँग जोडदार माग गर्दछु ।’’

सांसद साहले नेत्र विशेष डा. रुइतले नेपालमा लेन्स उत्पादन उद्योग खोलेर विश्वमै मानवीय सेवाका लागि उदाहरणीय काम गरेको पनि बताउनु भयो ।