• १५ वैशाख २०८१, शनिबार

खार्पुमा पक्की पुल निर्माण हुने

blog

पक्की पुल निर्माण स्थल खार्पुको कर्णाली नदी । तस्बिर: राजन रावत

राजन रावत

हुम्ला फागुन १६ गते । कर्णाली कोरिडोरको खार्पु सुनखाडा खण्डमा पर्ने खार्पुनाथमा कर्णाली नदी माथि पक्की पुलको निर्माण कार्य सुरु हुने भएको छ । सम्झौताको डेढ वर्षपछि निर्माण कम्पनी पक्षले निर्माण सामाग्री पुल निर्माण स्थलमा ल्याउने कार्य सुरु गरेपछि निर्माण कार्य अगाडी बढ्ने भएको हो । 

हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख वीरेन्द्र कुमार यादवले कर्णाली कोरिडोरको खार्पुमा कर्णाली नदी माथि पक्की पुल निर्माण गर्ने कार्य सुरु भएको बताउनुभयो । सामाग्री जुटाउन नसकेको भन्दै निर्माण कम्पनी पक्षले डेढ वर्षपछि पुल निर्माण कार्य अगाडी बढेको हो ।

२०७८ साल भदौ महिनामा स्वच्छन्द मन्टपुमोरी जेबीले पुल निर्माणका लागि आयोजनासँग सम्झौता भएको थियो । सो अवधिमा सम्झौता भए पनि डेढ वर्षसम्म पुल निर्माणको कुनै पनि कार्य अगाडी बढ्न सकेको थिएन । आयोजनाले ताकेता गरे पनि सामाग्री ढुवानीमा समस्य भएको भन्दै निर्माण कार्य अगाडी बढ्न सकेको थिएन । उहाँले निर्माण सामाग्री ढुवानीमा समस्या भएको भन्दै निर्माण कम्पनी पक्षले काम सुरु नगरेको भए पनि अहिले आएर सामाग्री सलीसल्लाबाट खच्चडमा खार्पुसम्म ढुवानी सुरु गरेको बताउनुभयो । 

सलीसल्लासम्म सामान गाडीमो ढुवानी भएर आउने गर्छ । उहाँले निर्माण कम्पनीले सामाग्री जुटाउने कार्यलाई तीव्रता दिन ताकेता गरिएको र काममा पनि तीव्रता दिन पत्राचार गरिएको बताउनुभयो । आयोजनाले पुल निर्माणका लागि निर्माण कम्पनी पक्षसँग दश करोड लागतमा डेढ वर्षअघि सम्झौता गरेको थियो । ५२ मिटर लम्बाई र सात चौडा पुलको निर्माण कार्य जति सक्दो चाँडो सम्पन्न गर्न निर्माण कम्पनी पक्षले जनाएको छ ।

निर्माण कम्पनीका स्थानीय प्रतिनिधि सोनाम लामाले सिमेन्ट छड निर्माण स्थल खार्पुमा ढुवानी हुन सुरु भएको र अब काम चाँडै अगाडी बढाउने बताउनुभयो । सो स्थानमा कर्णाली नदी माथि पुल नबनेकै कारण सडक निर्माण भए पनि खार्पुनाथ गाउँपालिकाको बोक्चे गौडासम्म यातायात सुचारु हुन सकेको छैन । कर्णाली कोरिडोर सञ्चालनमा ल्याउन र सदरमुकाम सिमकोटसम्म राष्ट्रिय सडक सञ्जालसँग जोड्न उक्त पुल महत्त्वपूर्ण रहेको छ ।