• १५ वैशाख २०८१, शनिबार

कांग्रेसले स्पष्ट बाटो तय गर्न सकेन : शेखर पक्ष

blog

गोरखापत्र अनलाइन

काठमाडौं, माघ ८ गते । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले पार्टीको नेतृत्वले गर्दैआएको भूमिकामाथि प्रश्न उठाएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियत बनाएको कांग्रेस राजनीतिक रूपमा सही बाटो तय गर्न नसकेको भन्दै सो पक्षका नेताहरूले नेतृत्वको आलोचना गरेका छन् ।

काठमाडौंको बत्तीसपुतलीस्थित एक बैंक्वीटमा आइतबार भएको बैठकमा नेताहरूले त्यस्तो धारणा सुनाएका हुन् । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘पचण्ड’ लाई दिएको विश्वासको मतमा समेत प्रश्न उठाएका छन् । 

बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेस दोधारमा रहेको भन्दै प्रश्न उठ्न थालेकाले आफूहरूले छलफल गरेको बताउनुभयो । पार्टी कार्यकर्ता, मतदाता र नेताहरूमा नै काँग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न नसकेको बारेमा छलफल गरिएको उहाँले जानकारी दिनुभयो । 

काँग्रेस आगामी दिनमा पनि राष्ट्रपति पाउने आसमा बस्ने होकि प्रतिपक्षमा बस्ने हो भन्ने बारेमा स्पष्ट हुनुपर्ने सो पक्षका नेताहरूले अडान लिएका छन् । नेता भण्डारीले भन्नुभयो, “कांग्रेस किन कन्फ्युजनमा छ ? किन स्पष्ट दृष्टिकोण लिएर हिँड्न सकेन ?, आम कार्यकर्ताले प्रश्न उठाइरहेका छन् ।” 

सांसद भण्डारीले कांग्रेसले आफ्नो इतिहास बिर्सिन नमिल्ने बताउनुभयो । बैठकमा पार्टीले लिनुपर्ने आगामी रणनीति, राजनीतिक कार्यादेश तथा माघ १५ गते बस्न गइरहेको केन्द्रीय समितिको बैठकका एजेण्डा बारेमा समेत आन्तरिक छलफल भएको उहाँको भनाइ छ ।

बैठकमा नेता कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सो पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद तथा केही जिल्ला सभापतिहरूको समेत सहभागिता थियो । पार्टीको सक्रियता र राजनीतिक साख कमजोर भइरहेको भन्दै आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने नेताहरूले बैठकमा सुझाव दिएका छन् ।