• २१ असार २०८१, शुक्रबार

सर्लाहीको हरिपुरमा चिसोले कठ्याङग्रिएर थप एक जनाको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, पुस ६ गते । सर्लाहीको हरिपुरमा चिसोले कठ्याङग्रिएर थप एक जनाको मृत्यु भएको छ । हरिपुर नगरपालिका–९, पिडारी टोल बस्ने ५० वर्षीय राजेन्द्र चौधरीको चिसोले कठ्याङग्रिएर मृत्यु भएको हो । चिसोले कठ्याङग्रिएर श्वासप्रश्वासमा समस्या हुनासाथ चौधरीलाई उपचारका लागि नमुना अस्पताल हरिवन पु¥याइएको थियो । 

हरिवनमा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा उहाँको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । याेसमेत गरी हरिपुरमा चिसोले कठ्याङग्रिएर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । 

यसअघि पिडारीकै ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका–६, लक्ष्मीपुर कोद्राह बस्ने ६५ वर्षीय रामभगत माझीको पनि चिसोले कठ्याङग्रिएर मृत्यु भएको थियो । यसरी चिसोले कठ्याङग्रिएर तीन जना विपन्न नागरिकको ज्यान गइसँक्दा पनि वडा कार्यालय, नगरपालिका र अन्य निकायबाट पीडित परिवारले कुनै राहत पाउन सकेका छैनन् । 

चिसोबाट बचाउन वडा तथा नगरले कुनै पहल नगरेको भन्दै मुसहर, चमार, डोमजस्ता दलित परिवार र अन्य अति विपन्न परिवारले गुनासो गरेका छन् । सर्लाहीसहित तराई क्षेत्रमा मङ्सिर अन्तिमबाट कठ्याङग्रिदो चिसो भइरहेको छ । 

दिउँसोपख पारिलो घाम लागेर जनजीवन सामान्य भए पनि साँझ–बिहान र रातको समयमा भने कठ्याङग्रिदो चिसो हुने गरेको छ । चिसो छल्न गरिब तथा अतिविपन्न परिवार न्यानो ओढने ओछ्याउनेको अभावमा चिसो भुइँमा पराल बिछ्याएर सुत्ने गरेका छन् ।