• २० वैशाख २०८१, बिहिबार

इलामको दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थगित

blog

कोकिला ढकाल

इलाम, मङ्सिर ७ गते । इलामको दुई निर्वाचन क्षेत्रमा भइरहेको मतगणना कार्य स्थगित भएको छ । इलाम क्षेत्र नं २ मा साढे ३ बजेदेखि मतगणना स्थगित भएको हो । 

उता, क्षेत्र नं १ मा मतपेटिका शीलको विषयमा विवाद भएपछि गए रातिदेखि स्थगित भएको मतगणना अझै शुरु हुन सकेको छैन । इलाम क्षेत्र नं २ मा मतगणना जारी रहेकै बेला गणना गरेको मतपत्र शील नगरी राखिएको विषयमा उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले विवाद निकालेपछि मतगणना कार्य स्थगित भएको छ । 

पुन ः गणना कार्य सुचारु गराउने सहमतिका लागि अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेर उम्मेदवारका प्रतिनिधि तथा दलका प्रतिनिधिको बैठक बोलाएको छ । क्षेत्र नम्बर २ मा ६९ हजार ८५ मत खसेकामा करिब २२ हजार मत गणना भइसकेको छ । 

उता सूर्योदय नगरपालिकामा भइरहेको क्षेत्र नं १ को मतगणना सुचारु गराउन निर्वाचन अधिकृतको कार्यालयले सहमतिको प्रयास गरिरहे पनि अझै सहमति नहुँदा मतगणना स्थगित छ । दलहरुबीचको बैठकमा सहमति नजुट्दा मतगणना कार्य लम्बिएको हो । 

इलाम क्षेत्र नं १ मा भने २३ हजार ८ सय ६५ मतगणना सकिएको थियो । यहाँ ५९ हजार १ सय ३६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।