• २१ वैशाख २०८१, शुक्रबार

कतार विश्वकपलाई स्वर्णिम बनाउने रोनाल्डोको चाहना

blog

विश्वकपअघि तयारी गर्दै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो । तस्बिर : सेटलस्पोर्टस

काठमाडौं, मङ्सिर ५ गते । पाँचौं पटक विश्वकप फुटबलमा सहभागिता जनाउन लाग्नुभएका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यस विश्वकपलाई स्वर्णिम बनाउन चाहेको बताउनुभएको छ ।

पोर्चुगल टोलीको प्रशिक्षणअघि साेमबार आयोजित पत्रकार सम्मेलनमा रोनाल्डोले टोलीको एउटै लक्ष्य विश्वकप भएको बताउनुभयो । विश्वकपअघि रोनाल्डोको इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग सम्बन्ध चिसिएको छ । युनाइटेडले रोनाल्डोलाई विश्पकप सँगै बिदाइ गर्ने आन्तरिक तयारी गरेको समाचार बाहिरिएका छन् । 

तर रोनाल्डोले आफ्नो क्लबसँगको सम्बन्धले विश्वकपमा कुनै असर नपार्ने बताउनुभयो । ‘‘हामी ठूलो आशा र विश्वासका साथ कतार आएका छौं । विश्वकपमा हाम्रो आशा ठूलो छ । हामी एउटै लक्ष्य लिएर अघि बढ्नेछौं । हाम्रो ध्यान कतै मोडिने छैन । टोलीको ध्यान अहिले घानाविरुद्धको खेलमा केन्द्रित रहेको छ,’’ रोनाल्डोले भन्नुभयो । 

उहाँले आफुले विश्वकपका लागि राम्रो प्रशिक्षण गरिरहेको र उत्कृष्ट लयमा रहेको बताउनुभयो । रोनाल्डोले विश्वकप अघि पोर्चुगलले नाइजेरियाविरुद्ध खेलेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भने गुमाउनुभएको थियो । रोनाल्डोले हालको पोर्चुगल निकै बलियो रहेको पनि बताउनुभयो ।


‘‘अहिले पोर्चुगल धेरै राम्रो छ । हामी राम्रो खेल्छौं र जित्छौं भन्ने भन्ने आशा छ । मेरो लागि याे विश्वकप विशेष छ । पाँचौं पटक खेल्न लागेकोले पनि विशेष छ । पोर्चुगललाई विश्वकप जिताएर सपना पूरा गर्न चाहन्छु,’’ रोनाल्डोले भन्नुभयो । 

उमेरले ३७ वर्ष पुग्नुभएका रोनाल्डोले यस विश्वकपलाई आफ्नो अन्तिम विश्वकपको रुपमा लिनुभएको छ । उहाँले ४० वर्षपछि फुटबल मैदानबाट बाहिरिने बताउँदै आउनुभएको छ । पाँचौं पटक बालोन डी’ओर विजेता रोनाल्डोले विश्वकप बाहेक अन्तर्राष्ट्रिय फुटबलमा सबै खाले उपाधि जित्नुभएको छ ।

उहाँकै कप्तानीमा पोर्चुगलले सन् २०१६ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसैले रोनाल्डोले कतार विश्वकपलाई आफ्नो ब्यक्तिगत खेल जीवनको महत्वपूर्ण अवसरका रुपमा लिनुभएको छ ।

विश्वकपमा पोर्चुगल समूह ‘एच’ मा छ । यस समूहमा उरुग्वे, घाना र दक्षिण कोरिया छन् । पोर्चुगलले मङ्सिर ८ गते घानासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । एजेन्सी