अझै सतर्क रहन आग्रह


काठमाडौँ, साउन २९ गते ।  अझै केही दिनसम्म भारी वर्षा हुन सक्ने भएकाले वर्षाका कारणले बाढी पहिरो आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले नदी किनार तथा खोला नजिकका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।  मनसुनी वायुको न्यूनचापीय रेखा नेपालका पहाडी क्षेत्र नजिकै सक्रिय भइरहेकाले देशैभर भारी वर्षा हुन सक्ने अनुमान विभागले गरेको हो ।  
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिसालका अनुसार शुक्रबारदेखि शनिबार रातिसम्म पूर्वी नेपालका तराई र पहाडी क्षेत्रमा भारी वर्षा भइरहेको छ ।  विशेष गरी सप्तकोसी नदी र नदीको जलाधार क्षेत्रका खोला र नदी किनारा वरपरका बस्तीमा बाढीको प्रकोप बढ्न सक्ने देखिएकाले सतर्क रहन आग्रह गरिएको छ ।  उहाँले भन्नुभयो, पूर्वी नेपालमा शुक्रबार सुरु भएको वर्षा आइतबार रातिसम्म लगातार पर्न सक्ने सम्भावना भएकाले पहाडमा बाढी आउन सक्ने र तराईमा डुबान हुने सम्भावना देखिएको छ ।  त्यसैले विशेष गरेर पूर्वी नेपालमा सतर्कता अपनाउन जरुरी छ ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले आइतबारदेखि मनसुनको प्रभाव पूर्वी नेपालबाट पश्चिम नेपालमा सर्दै जाने बताउनुभयो ।  आइतबारसम्म मेची, कोसी, कन्काई, बागमती र नारायणी नदी जलाधार क्षेत्रमा बढी सचेत हुनुपर्ने देखिएको छ आइतबारदेखि वर्षा पश्चिमतिर सर्दै जानेसक्ने भएकाले गण्डकी, कर्णाली, भेरी, बबई, सेती तथा महाकाली जलाधार क्षेत्रमा बढी सचेत हुनुपर्छ ।  
विभागले शनिबार एक विज्ञप्ति जारी गरी चुरे क्षेत्रमा बाढी र पहिरो र चुरेभन्दा तल्लो क्षेत्रमा डुबानको समस्या आउन सक्ने भएकाले सावधानीका साथ सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।  मौसम पूर्वानुमान महाशाखाले शनिबार पूर्वदेखि पश्चिम नेपालसम्मका तराई भेगमा भारी वर्षा भएको जानकारी दिएको छ ।  
विभागले दिएको जानकारीअनुसार बबई नदीको तुल्सीपुर, घोराही, छेपाङ, पदमपुर, अम्बापुर, क्षेत्रमा राखिएका पानी मापन केन्द्रमा रेकर्ड भएको तथ्याङ्कअनुसार पानीको स्तर खतरा रेखाभन्दा माथि छ ।  त्यसैगरी पश्चिम राप्तीको कुसुमघाटमा पनि पानीको स्तर खतराको रेखाभन्दा माथि छ ।  
नारायणी नदीको मादी, गोविन्दबस्ती, रजैया र कन्काई नदीको सोक्तिम क्षेत्रमा पनि पानीको सतह निकै माथि छ ।  विभागले ती क्षेत्रका नेपाल टेलिकम र एनसेलका ग्राहकलाई बाढीको पूर्वसूचना दिँदै सुरक्षित स्थानतर्फ जान निरन्तर सूचना प्रवाह गर्ने व्यवस्था समेत मिलाएको विभागका महानिर्देशक डा. शर्माले जानकारी दिनुभयो ।  
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds