• १४ वैशाख २०८१, शुक्रबार

निर्वाचनमा प्रयोग गर्न भारतले दियो दुई सय गाडी उपहार

blog

भारतले दिएको सवारी साधन । तस्बिर : काठमाडौंस्थित भारतीय दूतावास

काठमाडौं, कात्तिक १५ गते । काठमाडौंस्थित भारतीय दूतावासले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रयोग गर्ने गरी नेपाललाई दुई सय वटा सवारी साधन उपहार दिएको छ ।

भारतीय दूतावासका अनुसार मङ्गलबार भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई ती सवारी साधन हस्तान्तरण गर्नुभएको हो । यी सवारी साधन निर्वाचनका लागि प्रयोग गरिनेछ ।

सवारी हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै भारतीय राजदूत श्रीवास्तवले निर्वाचनमा प्रयोग गर्नेगरी भारत सरकारले नेपाल सरकारलाई सहयोग स्वरूप दुई सय वटा सवारी साधन दिएको बताउनुभयो । उहाँले दुई सय सवारी साधनमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगको प्रयोगका लागि दिएको जानकारी दिनुभयो ।

श्रीवास्तवले भारत सरकारले नेपालमा हुने हरेक निर्वाचनमा सवारी साधन सहयोग गर्दै आएको भन्दै अहिलेसम्म २४ सयभन्दा बढी सवारी साधन सहयोग गरेको बताउनुभयो ।

भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै दुई हजार वटा र नेपाली सेना र निर्वाचन आयोगलाई चार सय वटा गरी हालसम्म नेपाललाई निर्वाचनको समयमा २४ सयभन्दा बढी सवारीसाधन उपहार दिएको उहाँको भनाइ छ ।

कार्यक्रममा अर्थमन्त्री शर्माले निर्वाचनका लागि सवारीसाधन सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिनुभयो ।