• १५ वैशाख २०८१, शनिबार

नेपाली कांग्रेसको घोषणापत्र

पहिलो पटक ‘पार्टी अडिट’को प्रतिबद्धता

blog

काठमाडौँ, कात्तिक १४ गते । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा गरिएका प्रतिबद्धताको कार्यान्वयन परीक्षण गर्ने भएको छ। विकसित देशहरूमा अभ्यासमा रहेको दलहरूको नीतिगत प्रतिबद्धता कार्यान्वयन परीक्षण (पार्टी अडिट)को व्यवस्था कार्यान्वयनमा ल्याउने प्रयासस्वरूप यस्तो व्यवस्था गरिएको हो।

नेपालमा सम्भवतः पहिलो पटक राजनीतिक दलले घोषणापत्रमा नीतिगत प्रतिबद्धता कार्यान्वयन परीक्षण गर्ने सङ्कल्प गरेको हो। कांग्रेसको घोषणापत्रमा भनिएको छ, “सङ्कल्पमा उल्लिखित विषयको कार्यान्वयनको अवस्थाका सन्दर्भमा पार्टीभित्र अनुगमन र मूल्याङ्कन संयन्त्र बनाई प्रभावकारी अनुगमन गर्न हरेक आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र ‘पार्टी अडिट’ गर्ने छौँ।”

कांग्रेस नेता एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले पार्टी अडिटको विषय घोषणापत्रमै लेखिनुका पछाडि असल नियत रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “पार्टी अडिट सङ्कल्प पत्रमै राख्दा राजनीतिक दललाई प्रेसर त भयो नि! तपाईंहरूले लेख्नुहुन्छ, जनदबाब सिर्जना गर्नुहुन्छ। लेखेका कुरा गरेन भन्नुहुन्छ र कार्यान्वयन गर्न दबाब सिर्जना हुन्छ।”

डा. वाग्लेले घोषणापत्रमा उल्लिखित नीति कार्यान्वयन परीक्षण लागू हुने र परिणाम आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले कांग्रेस पदाधिकारीमा पुरानो पुस्तासँगै नयाँ पुस्ताका नेताको बाहुल्य रहेकाले सुशासनका लागि पनि यस्ता सुधारका कार्यक्रम कार्यान्वयन हुने बताउनुभयो। उहाँले भन्नुभयो, “नेपाली कांग्रेसका अधिकांश पदाधिकारी युवा हुनुहुन्छ। गगन थापा, विश्वप्रकाश शर्मा, जीवन परियार, धनराज गुरुङ, सबै नयाँ पिँढीका हुनुहुन्छ। 

उहाँहरूलाई तपाईंहरूले केरकार गर्नुहुन्छ नि, तपाईंहरूकै पालामा पनि यो गरिएन भन्नुहुन्छ। पुरानो पुस्तालाई छुट दिउँला रे तर नयाँलाई प्रश्न गर्न सकिन्छ। यो असल नियतले नै राखिएको हो।”


‘पार्टी अडिट नेतृत्वलाई ज्ञात हुनुपर्छ’

कांग्रेसको घोषणापत्र तयारी समिति सदस्य डा. वाग्लेले नीति कार्यान्वयन परीक्षण लागू हुने विश्वासव्यक्त गरिरहँदा प्राध्यापक कृष्ण खनालले कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गर्नुभयो। उहाँले घोषणापत्रमा लेखेर मात्रै नहुने र कार्यान्वयनका लागि पार्टी नेतृत्वलाई यस विषयमा बोध हुनुपर्ने बताउनुभयो। 

प्राध्यापक खनालले भन्नुभयो, “घोषणापत्र कार्यान्वयन गर्ने नेता को हो ? नेतालाई यी कुरा कति ज्ञात छ ? अर्काले लेखिदिएर हुन्छ र! नेताको दिमागमा यी कुरा पसेकै छैनन्। त्यसैले अब यस विषयमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले बोल्नुपर्छ, बुझ्नुपर्छ। अनि कार्यान्वयनमा आउँछ।” 

उहाँले घोषणापत्रको विषयमा पार्टीभित्रै गम्भीर ढङ्गले बहस र कार्यान्वयनको विषयमा विमर्श गर्नुपर्ने विचार राख्नुभयो। खनालले भन्नुभयो, “घोषणापत्र कार्यान्वयन गर्नैका लागि लेख्ने हो, लेख्नेले नै बुझेको छैन भने हामीले बुझाइदिएर हुँदैन। ‘अडिट’ भन्ने कुरा पार्टी नेतृत्वलाई बोध छ भने कार्यान्वयन हुन्छ।”


‘विश्वसनीय आधार बनाउँछौँ’

डा. वाग्लेले प्राध्यापक खनालका प्रश्नलाई सम्बोधन गर्ने गरी विश्वसनीय आधार निर्माण गरेर घोषणापत्र कार्यान्वयन गर्न कार्यदल गठन गर्ने बताउनुभयो। उहाँले घोषणापत्र तयारी समितिजस्तै टिम बनाएर विषयगत र क्षेत्रगत अनुगमन गर्नुपर्ने बताउनुभयो। पार्टीमा रिपोर्टिङ गर्न कार्यविधि बनाएरै जान सकिने बताउँदै संस्थागत रूपमा काम गर्दा सकारात्मक असर ल्याउने दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “बेलायतमा अभ्यास के छ भने घोषणापत्रमा खर्चकै विवरण राख्ने गरिन्छ। घोषणापत्र महìवपूर्ण र विश्वसनीय बनाउन पनि त्यस्तो अभ्यास छ। प्रधानमन्त्रीमा निर्वाचित भएपछि ऋषि सुनकले म घोषणापत्र कार्यान्वयन गर्नै आएको हुँ भन्नुभयो। उन्नत लोकतन्त्रमा पनि त्यो देखियो।”

घोषणापत्र तयारी समिति सदस्य एवं युवा नेता प्रताप पौडेलले स्थानीय तह, प्रदेश र सङ्घमा कांग्रेसले सरकार सञ्चालन गर्ने सन्दर्भमा कसरी कार्यान्वयन भए वा हुन सकेनन् भने किन हुन सकेनन् भनेर आवधिक रूपमा नेतृत्व गर्ने व्यक्तिले पार्टीमा जानकारी गराउने बताउनुभयो। उहाँले परीक्षण गर्ने समितिले सूचकहरू बनाएर आर्थिक वर्ष सकिएपछि दुई महिनाभित्र पार्टी अडिट गर्ने बताउनुभयो। उहाँले अनुगमन संयन्त्रको मूल्याङ्कन परिपाटी निर्माण गर्दा नीति कार्यान्वयन परीक्षण प्रभावकारी हुने बताउनुभयो।  

पौडेलले भन्नुभयो, “अबको पाँच वर्षपछि स्थानीय तहको नेतृत्व दोहो-याउन चाहनेले यो पाँच वर्ष गरेको काम, गर्न नसकेका काम र किन गर्न सकिएन भन्ने कुरा प्रस्ट पार्नुपर्छ। मन्त्री बन्ने व्यक्तिले पनि जिम्मेवारीमा बसेपछि गरेका काम र गर्न नसकेका कामका बारेमा पार्टीलाई भन्नुपर्छ।”

‘यथास्थितिको निरन्तरताले सङ्कल्प पूरा हुँदैन’

घोषणापत्र तयारी समितिद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेताहरूले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र कार्यान्वयनका लागि पार्टीभित्रै सुधारको आवश्यकता औँल्याउनुभयो। 

डा. वाग्लेले भन्नुभयो, “ठूलो सुधार हुनुपर्छ। यथास्थितिको निरन्तरताले यो कुरा पूरा हुँदैन। चुनावपछि ताजा जनादेश लिएर आएको सरकारले नयाँ ढङ्गले २०४८ सालकै भावनामा अर्थतन्त्रलाई नै अर्जुनदृष्टि लगाएर काम ग¥यो भने र असल शासन, सुशासनका केही अवधारणामा आचरणगत सुधार गरियो भने यी काम गर्न सकिन्छ।”

सहमहामन्त्री जीवन परियारले पाँच दलबीच चुनावी गठबन्धन बनाउँदा सबै आकाङ्क्षीलाई टिकट वितरण गर्न नसकिएको बताउनुभयो। केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले लगानी र विकासका सन्दर्भमा बेमेल कानुनहरू सुधार र खारेज गर्नुपर्ने बताउनुभयो । घोषणापत्र तयारी समिति सदस्य गेजा शर्मा वाग्लेले अन्तर्राष्ट्रिय सम्बन्ध र कृष्णप्रसाद पौडेलले शिक्षाको सुधारका सन्दर्भमा धारणा राख्नुभएको थियो।