• १५ वैशाख २०८१, शनिबार

चार दिवसीय छठको मुख्य विधि शुरु

blog

महोत्तरीमा छठ मनाइँदै । फाइल फोटो

महेशकुमार दास

जलेश्वर, कार्तिक ११ गते । श्रद्धा, भक्ति र सहिष्णुताको सङ्गम मानिने चार दिवसीय छठ पर्व शुक्रबारदेखि विधिवत् रुपमा शुरु भएको छ । 

सम्पूर्ण मनोरथ पूरा हुने तथा आरोग्य प्राप्त हुने कामना गर्दै छठ व्रतका व्रतालुहरुले शुक्रबार नहाखायबाट महानपर्व छठको शुरुवात गरेका हुन् । 

पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खाय पनि भन्ने गरिन्छ । शुक्रबार छठि व्रत गर्ने व्रतालुहरुले नजिकैको खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाएका छन् । 

छठ व्रत गर्ने व्रतालुहरुले शुक्रबारदेखि भोजनमा माछामासु, लसुन, प्याज र कोदो जस्तो वस्तु वरर्जित गरेर व्रत बस्न शुरु गर्नुभएकाे छ । व्रतालुले नहायखायलाई आँखा पनि भन्ने गर्दछन् । 

यसैगरि पञ्चमी तिथि शनिबार छठ व्रत गर्ने व्रतालुहरुले खरना गर्नुहुनेछ । पर्वको दोस्रो दिनलाई संरक्षण अर्थात पापको क्षय पनि भन्ने गरिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गर्दछन् ।

प्रसादका रुपमा विशेष गरी पाकेको केरा र खीरलाई लिने गरिन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस ९खीर० चढाई सोही प्रसाद ग्रहण गर्नुहुन्छ । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ । 

मैथिली संस्कृतिमा मनाइने हरेक चाडपर्वमध्ये कार्तिक शुक्ल षष्ठीमा मनाईने छठ पर्वको आफ्नै विशेषता र महत्वका कारण यस पर्वलाई महापर्व भनेर पनि चिनिने गरिन्छ । यस पर्वलाई हिन्दुहरुको चाँड भनिए पनि हरेक धर्मावलम्बी जातजातिहरुको उतिकै सहभागिता देखिन्छ । 

अस्ताउँदो सूर्यलाई छठी मैयाँ तथा उदाउँदो सूर्यलाई दिनकर भनी यो पर्वमा पूजा गर्ने गरिन्छ । यो व्रत सप्तमीयुक्त षष्ठीमा गर्नुपर्ने विधान छ । 

यो पर्वको सन्दर्भमा पुराणमा “आरोग्य भाष्करं दिच्छेत्” श्लाेकले पुष्टि गरेको पाइन्छ । त्यसैगरी पद्मपुराणले तपस्या, व्रतबाट पाइने फलभन्दा कयौं गुणा अधिक फल यो व्रत गर्दा प्राप्त हुने जनविश्वास रहि आएको छ ।  

मनोवाञ्छित फलको साथ साथै यश कीर्ति पाउने पर्वको रुपमा यसलाई लिने गरिन्छ । अहिंसाको भावना, जातजातिमाथि छुवाछूत  र काटमारबाट टाढा रहेको यो पर्वले आत्मीय शान्ति, भ्रातृत्व प्रेम र सबैमा समान व्यवहार भाव दर्शाउने गरेको पाइन्छ । 

यो पर्वमा उपयोग गरिने छिटा, ढकिया, चङेरा, कोशिया,  कुरवार , हाथि घोडा, माला लगायतका सामग्रीहरु कुम्हार, डोम, माली लगायतका जातजातिबाट लिने गरिएकोे कारण यो पर्व छुवाछूतभन्दा पनि पर रहेको भन्न सकिन्छ ।

विशेष गरेर तराईवासीले कार्तिक शुक्लपक्षमा मनाउने यो पर्व चार दिवसीय हुन्छ । कात्तिक महिनाको चौथीदेखि व्रतालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको बिहान यो पर्वको समापन गरिन्छ । 

यता छठ पर्व शुक्रबारदेखि धार्मिक परम्परा अनुसार मुख्यविधि शुरु भएपछि छठको हर्षोल्लास जताततै देख्न सकिन्छ । 

छठको अर्घ दिन आवश्यक पर्ने सामग्री खरिद गर्नेहरुको भीड अहिले बजारहरुमा बढेको देखिएको छ । 

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्न तराईवासीको महान् चाड हो, छठ पर्व । 

महाभारतका अनुसार द्राैपदीसहित पाण्डवहरु अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल हास् भनी सूर्यदेवलाई आराधना गरेका थिए । 

उक्त समयमा पाण्डवहरु मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । 

लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनसूयाले छठ व्रत गरेकी थिइन्, फलस्वरुप उनले अटल सौभाग्य र प्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ । 

सरापबाट पीडित प्रसिद्ध कवि मधुर भट्टले सूर्यको उपासनाबाट सुन्दर र कञ्चन शरीर पुनः प्राप्त गर्नु भएकाले त्यही दिन सूर्यको आराधना सुरु भएको कथन पनि पाइन्छ । 

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरु पनि त्यत्तिकै छन् । 

वैज्ञानिक ज्योतिषी तथा चिकित्सकहरुले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । 

तिनको शाक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्य कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्यकिरणको चिकित्साले कैयाैं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । कैयाैं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । 

साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वरा कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाको फलस्वरुप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठपर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।