• १५ वैशाख २०८१, शनिबार

विपद्को पूर्वतयारी र प्रतिकार्यमा ड्रोन प्रयोग

blog

तालिममा ड्रोन उडाउनुहुँदै आन्तरिक मामिला तथा कानुन मन्त्री ड.रणबहादुर रावल । तस्बिर : एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना
टीकापुर (कैलाली), असोज ४ गते ।
विपद्को पूर्वतयारी र प्रतिकार्यमा छिटो र सहज कार्यका लागि मानवरहित हवाई उपकरण (ड्रोन)को प्रयोग गर्न विपद् व्यवस्थापनमा खटिने निकायहरु तालिम लिन लागेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा मङ्गलवारदेखि टीकापुरमा तीनदिने तालिम सुरु भएको छ । 

तालिमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री डा. रणबहादुर रावलले सुदूरपश्चिम बाढी, पहिरो, भूकम्पको ठूलो जोखिममा रहेकाले विपद्को सामना गर्न, विपद्पछिको अवस्था तत्काल बुझ्न ड्रोनको प्रयोग आवश्यक भइसकेकाले त्यसमा खटिने निकायहरुको क्षमता वृद्धि गर्न लागेको बताउनुभयो ।

‘‘कैलालीको दक्षिणी क्षेत्र तीन दिनदेखि जलमग्न हुँदा अवस्था थाहा पाउन ड्रोनको प्रयोग गरी उद्धार र राहतकाे काम सजिलो हुने थियो,’’ मन्त्री रावलले भन्नुभयो, ‘‘मानव जान नसक्ने ठाउँमा ड्रोनको प्रयोग गरी सूचना लिएर मानवीय क्षति कम गर्न, राहत उद्धारका काम गर्न सकिन्छ ।’’ पहिरोको जोखिममा रहेको पहाडी क्षेत्रमा पनि ड्रोनको प्रयोगले सहज हुने उहाँको भनाइ छ ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले विपद्का साथै सीमाक्षेत्रमा भइरहेका गतिविधिहरु नियाल्न र नगरको शान्ति सुरक्षा कायम गर्न पनि ड्रोनको प्रयोग गरिनुपर्ने र त्यसका लागि स्थानीय सरकार र नेपाल प्रहरीलाई साधन स्रोत थप्न तयार भएको बताउनुभयो ।

सयुक्त राष्ट्र सङ्घको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख बैजन्ती गिरी सिंहले विपद्को उद्धार गर्न सरकारका विभिन्न निकाय परिचालन हुँदा ढिलो हुने र उद्धारकर्मी नै खतरामा पर्ने गरेको बताउनुभयो ।  नेपालमा २०७२ को भुकम्पपछि बाढी र पहिरोमा पनि ड्रोनको प्रयोग आवश्यक भएकाले यूएनडीपीको शहरी विपद् व्यवस्थापन तथा भूकम्पीय पूर्व तयारी योजनाले यसमा सहयोग उहाँको भनाइ छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राविधिकरणका सूचना प्रविधिविज्ञ अरुण पौडेलले नेपालमा एक किलोमिटर परसम्मको अवस्था थाहा पाउन ड्रोनको प्रयोग भइरहेको र कार्गो ड्रोनहरु १० किलोमिटर परसम्मको कामका लागि प्रयोग भइरहेको बताउनुभयो ।

तीन दिनसम्म चल्ने तालिममा कञ्चनपुर, डडेलधुरा, बझाङका जिल्ला विपद् व्यवसथपान समितिका प्रतिनिधि, नेपाली सेनाको देवीदत्त गुल्म, नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरीको बैद्यनाथ बाहिनीका प्रहरी अधिकृतहरु, रेडक्रसकर्मीहरु सहभागी छन् । यसैगरी, कैलालीका टीकापुर, भजनी, गोदावरी, नगरपालिका, कैलारी, जानकी गाउँपालिका, धनगढी उपमहानगरपालिका, कञ्चनपुरको पुनर्वास र भीमदत्त नगरपालिका, डडेलधुराको अमरगढी नगरपालिका र बझाङकाे जयपृथ्वी नगरपालिकाकाका स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रतिनिधि सहभागी हुनुहुन्छ । तालिममा ड्रोनबाट सूचना सङ्कलन गर्न यसको प्राविधिक पक्ष, कानुनी पक्षलगायतको सिकाइ हुनेछ ।