• २० वैशाख २०८१, बिहिबार

बङ्गुरपालनमा रमाउँदै युवा

blog

शेरबहादुर सार्की

बाजुरा, वैशाख ३१ गते  । बाजुराको बूढीगङ्गा नगरपालिकाका तिलक जोशी बङ्गुरपालन व्यवसायमा रमाउनुभएको छ । बङ्गुरलाई दाना पानी खुवाउने र खोर सफा गर्ने उहाँको दैनिकी बनेको छ । उहाँको यो दिनचर्या चलेको झन्डै तीन वर्ष भयो । तीन वर्षअघि स्नातकोत्तर पढाइ सकेर घर फर्केपछि उहाँ यो पेसामा लाग्नुभएको हो । 

बाजुराको बूढीगङ्गा नगरपालिका–१०, देउमाडौँका जोशीले भन्नुभयो, “काठमाडौँबाट पढाइ सकेर घरमा आएको तीन वर्षजति भयो । मजस्ता पढेलेखेका अधिकांश युवा जागिरको खोजीमा भारतमा भौँतारिरहेका छन् तर म भने पढाइ सकेर गाउँमा आएपछि यो व्यवसायमा निकै व्यस्त भएको छु ।”

यो बङ्गुरपालन व्यवसायबाट अहिले राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ । केही लाख रुपियाँबाट सुरु गरेको जोशीको बङ्गुरपालन व्यवसाय अहिले झन्डै १५ लाख रुपियाँको भएको छ । फार्मलाई विस्तार गर्न लगानी बढाउने योजना रहेको जोशीले बताउनुभयो । 

दानापानी राम्रो खुवाउन सकियो भने आठ महिनादेखि एक वर्षमा बङ्गुर एक सय केजीको हुने उहाँले बताउनुभयो । दानाको व्यवस्थापन गर्नसके पैसा कमाउन बङ्गुरपालन व्यवसाय राम्रो हुने उहाँले अनुभव छ । बङ्गुरपालन गर्दा धेरै परिश्रम गर्नुपर्ने र बङ्गुरको पेट भर्न धेरै चारो चाहिने हुनाले निकै खर्च हुने गर्छ । 

बेतालमाडाँै, रिठा, डाब, मालिका बजारमा बङ्गुरको मासु बिक्री हुँदै आएको जोशीले बताउनुभयो । महिनामा १० वटासम्म बङ्गुर बिक्री गर्ने हो भने एक लाख रुपियाँ कमाइ हुने उहाँको भनाइ छ ।  बाजुरामा अहिले प्रतिकेजी ३५० रुपियाँमा बङ्गुरको मासु बिक्री हुन्छ तर बजारको मागअनुसार आपूर्ति नभइरहेको जोशीले बताउनुभयो ।

तिलक जोशीका बुवा वडा सदस्य हुनुहुन्छ । उहाँले पनि कुखुरापालन गर्दै आउनुभएको छ । कुखुरापालनले दुई छोरा र एक छोरीलाई उच्च शिक्षासम्म पढाउन सहज भएको उहाँका बुवा भोलाराम जोशीले बताउनुभयो ।

जिल्लामा बङ्गुरपालन कार्यक्रम सुरु भएसँगै खोर निर्माण, मासु पसल सुधार र आवश्यक परामर्श पाउन थालेपछि किसान उत्साहित भएका छन् ।