• २४ वैशाख २०८१, सोमबार

मतदान केन्द्र निर्माण र परिचयपत्र वितरण

blog

राजधानीको पुरानो बानेश्वरमा बुधबार मतदाता परिचयपत्र वितरण गरिँदै ।तस्बिर : कविता थापा

काठमाडौँ, वैशाख २९ गते  । स्थानीय निर्वाचन २०७९ को पूर्वसन्ध्यामा मतदान केन्द्र निर्माण भइरहेका छन् तर केन्द्र निर्माणमा केही कठिनाइ देखिएको छ । निर्वाचन आयोगले २०७४ को चुनावका आधारमा मतदान केन्द्र निर्धारण गर्दा ‘बुथ’ निर्माणमा कठिनाइ उत्पन्न भएको छ । 

निर्वाचन आयोगका अनुसार काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका मात्रै करिब ५० वटा केन्द्रमा समस्या देखिएको हो । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बुधबार अबेर गोरखापत्र दैनिकसँगको कुराकानीमा “शुक्रबार हुने मतदानका लागि मतदान केन्द्र निर्माण तथा अन्य प्राविधिक समस्याको सम्बोधन गरिरहेको” बताउनुभयो ।

स्थानीय निर्वाचन २०७४ भन्दा ८५ मतदान स्थल र तीन हजार ३७२ मतदान केन्द्र स्थानीय निर्वाचन २०७९ मा थपिएका छन् । जिल्लास्थित मतदान स्थल तथा मतदान केन्द्र पुनरवलोकन समितिको सिफारिसमा नयाँ स्थल र केन्द्र थपिएका थिए । तर, पुराना मतदान स्थल र केन्द्रमा समस्या देखिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार २०७४ को चुनावमा भवनलगायतका पूर्वाधार रहेका कतिपय मतदान केन्द्रमा सामग्री व्यवस्थापनका लागि भवन नै नरहेको पाइएको छ । 

काठमाडौँको मुख्य बजार क्षेत्रभित्र रहेको काठमाडौँ महानगरपालिका वडा नं. २२ को सङ्कटा मन्दिर परिसरमा तीनवटा मतदान केन्द्र तोकिएकोमा त्यहाँसमेत टेन्ट, फर्निचरलगायतका सामग्री व्यवस्थापनमा समस्या देखियो । सङ्कटा मन्दिर ‘क’ मतदान केन्द्रका मतदान अधिकृत अरुणप्रकाश भट्टले मतदान केन्द्र निर्माणको पूर्वतयारीमा समस्या आएको खुलाउनुभयो । उहाँले भन्नुभयो, “स्वयंसेवक नियुक्त गरेका छौँ, मतदान प्रतिनिधिलाई परिचयपत्र वितरण गरेका छौँ, मतदाता परिचयपत्र वितरण हुँदै छ तर फर्निचर, टेन्टलगायतका सामग्री व्यवस्थापनमा समस्या देखिएको छ ।” 

प्रवक्ता पौडेलले भने पूर्वाधार नदेखिएका केन्द्र तयार गर्न लाग्ने खर्च आयोगले बेहोर्ने गरी तयारी गर्न निर्देशन दिइएको बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार आंशिक पानी पर्ने पूर्वानुमान गरेपछि  आयोगसमक्ष चुनौती थपिएको छ । उक्त पूर्वानुमानलाई ध्यान दिँदै आयोगले मतदान केन्द्रहरूमा टेन्टको व्यवस्था गर्न निर्देशन दिएको छ । प्रवक्ता पौडेलले गण्डकी र कर्णाली प्रदेशमा मतदानको दिन पानी पर्ने सम्भावना अत्यधिक रहेको बताइएकाले दुवै प्रदेशको मतदान केन्द्रमा सोहीबमोजिम व्यवस्था गर्न निर्देशन दिइएको खुलाउनुभयो । देशभरिका २१ हजार ९५५ मतदान केन्द्रमा एक लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ स्वयंसेवक परिचालन गरिएका छन् । 

परिचय खुल्ने कागजातबाट मतदान

मतदान केन्द्रहरूमा बुधबारदेखि मतदाता परिचयपत्र वितरण पनि थालिएको छ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आफ्नो परिचय खुल्ने कागजात देखाएर मतदान गर्न पाउने व्यवस्था गरेको छ । निर्वाचन निर्देशिकामा भने  मतदाता परिचयपत्र देखाएर मात्र मतदान गर्न पाउने उल्लेख छ । 

आयोगका प्रवक्ता पौडेलका अनुसार आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई चारवटा विकल्प दिएर मतदान गर्न पाउने व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता नामावलीमा नाम रहेका मतदाताले नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार नयाँ मतदाता, नासिएका वा हराएका र अद्यावधिक गरेका मतदाताको परिचयपत्र मतदान अधिकृतलाई मतदान केन्द्रमा वितरणका लागि दिइएको छ । आयोगमा गत फागुन अन्तिम साता परेको आवेदन तथा नयाँ मतदाताका आधारमा करिब ३० लाख नयाँ परिचयपत्र छापेर पठाइएको जनाइएको छ ।

दुई स्थानमा जेठ ३ मा मतदान

निर्वाचन आयोगले उम्मेदवारको मृत्यु भएपछि दुई पालिकामा जेठ ३ गतेका लागि मतदान सारिएको जनाएको छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपप्रमुख पदका उम्मेदवार शुभावती कुर्मीको मङ्गलबार निधन भएको हो । उहाँले नेपाली काँग्रेसबाट उपप्रमुख पदमा उम्मेदवारी दिनुभएको थियो । 

त्यसैगरी दाङको तुलसीपुर नगरपालिकाको वडा नं. १७ का वडाध्यक्ष पदका उम्मेदवार लभरु चौधरीको मङ्गलबार नै निधन भएको हो । चौधरी नेकपा (एमाले)बाट वडाध्यक्ष पदका उम्मेदवार हुनुहुन्थ्यो । प्रवक्ता पौडेलले दुवै स्थानमा जेठ ३ गतेका लागि मतदान कार्यक्रम तोकिएको जानकारी दिनुभयो । तर तुलसीपुर नगरपालिकाको वडा नं. १७ अन्तर्गतको मतदान केन्द्रमा मात्रै मतदान हुने मिति सारिएको आयोगले जनाएको छ । उम्मेदवारी दर्ता भएयता हालसम्म नौ जना उम्मेदवारको मृत्यु भएको छ । सात स्थानमा भने निर्वाचन तालिका मिलान गरिएकाले वैशाख ३० गते नै मतदान हुने व्यवस्था गरिएको आयोगले प्रस्ट्याएको छ ।