• १२ मंसिर २०८१, बुधबार

एमाले हुम्ला अधिवेशन चैत २८ मा हुने

blog

बैठकपछि एमाले हुम्लाको टोली चङ्खेली गाउँपालिकामा । तस्बिरः राजन रावत

राजन रावत

हुम्ला, फागुन ३० गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) हुम्लाको जिल्ला अधिवेशन आगामी चैत २८ र २९ गते सदरमुकाम सिमकोटमा हुने भएको छ । सो पार्टीको चङ्खेली गाउँपालिका केन्द्र पिप्लाङमा सञ्चालन भएको जिल्ला कमिटी बैठकले जिल्ला अधिवेशनको मिति र स्थान तय गरेको हो । 

एमाले हुम्लाका कावा अध्यक्ष डबल रावतले चङ्खेली गाउँपालिकामा सम्पन्न भएको नवौँ पूर्ण बैठकले दसौँ जिल्ला अधिवेशन चैत २८ र २९ गते सदरमुकाम सिमकोटमा गर्ने निर्णय गरेको बताउनुभयो । त्यसैगरी अधिवेशन प्रतिनिधि चैत १६ गते ४४ वटा वडामा एकै दिन छनोट गर्ने निर्णय बैठकले गरेको छ । 

अधिवेशन प्रतिनिधिका लागि दलित पार्टी सदस्यका हकमा २५ जना बराबर एक जना र अन्यका हकमा ३० जना पार्टी सदस्य बराबर एक प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ । जम्मा सदस्य सङ्ख्याको ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा (४० वर्ष मुनिका) प्रतिनिधि अनिवार्य छनोट गर्नुपर्नेछ ।

जनसङ्गठनका हकमा जिल्ला अधिवेशन भएकाबाट दुई जना र नभएकाबाट एक जना प्रतिनिधि पठाउनु पर्नेछ । त्यसैगरी बैठकले कावा अध्यक्ष डबल रावतको अध्यक्षतामा अधिवेशन मूल आयोजक कमिटी गठन गरेको छ भने १० वटा अधिवेशन उपसमिति गठन गरेको छ । बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नागेन्द्र शाही नेशनल र जिल्ला कमिटीका सदस्यहरूको उपस्थिति थियो ।