• १३ साउन २०८१, आइतबार

अध्यक्षमा निर्वाचित गरेकामा राष्ट्रिय सभाका सदस्यलाई धन्यवाद

blog

काठमाडौं, फागुन ३० गते । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले आफूलाई अध्यक्षमा निर्वाचित गरेकामा सभाका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा उहाँले आफूलाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरेकामा राष्ट्रिय सभाका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष हुनुअघि चार दशक राष्ट्रिय राजनीतिमा बिताएको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति आफूले व्यक्तिगत वा संस्थागत भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, “मैँले सम्झेसम्म जनतालाई धोका हुने काम गरेको छैन, मैँले प्राप्त गरेको यो भूमिका खास पारिवारिक सम्बन्धसँग जोडेर चर्चा गरिएको पनि पाएको छु, तर हाम्रो त्यो सम्बन्ध कहिल्यै पनि व्यक्तिगत वा पारिवारिक रूपमा सीमित थिएन र छैन, हाम्रो सम्बन्ध सिँधैभरि विचार केन्द्रित सहकर्मीको रूपमा कायम छ ।” उहाँले आफ्नो सम्पूर्ण परिवार लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि सम्पूर्ण आन्दोलनमा होमिएको तर परिवारले त्यसको लाभ वा भुक्तानी नमागेको र नमाग्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “अध्यक्षका रूपमा नाम मनोनयन दिनदेखि नै मैलै मेरो दलीय आबद्धता र संलग्नता त्याग गरेको छु, राष्ट्रियसभाको सदस्यको रूपमा मेरो चयन गैरदलीय आधारमा नै भएको हो, तथापि म नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०मा क्रियाशील थिएँ ।” उहाँले अबको राजनीतिक दर्शन र विश्वास समृद्ध नेपाल निर्माणका लागि, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र समानुपातिक समावेशी प्रणालीलाई संस्थागत गर्नमा केन्द्रित हुने बताउनुभयो ।

अध्यक्ष दाहालले राष्ट्रियसभालाई परिपक्व र विज्ञहरूको सदन बनाउँदै यसको गरिमा र मर्यादालाई उच्च राख्न आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो । रासस