• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्रीको प्रतिक्रिया, ‘मेरो जिम्मेवारी अझ बढेको छ’

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वासको मत प्राप्त गरेपछि संसदबाट बाहिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं, फागुन ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट तेस्रो पटक विश्वासको मत पाएसँगै आफ्नो जिम्मेवारी अझै बढेको प्रतिक्रिया दिनुभएको छ । बुधबार संसदमा विश्वासको मत लिएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो जिम्मेवारी बढेको प्रतिक्रिया दिनुभएको हो ।

प्रधानमन्त्रीले राष्ट्र र जनताको पक्षमा राम्रो काम तीव्र गतिमा पूरा गर्ने आफ्नो जिम्मेवारी रहेको जानकारी दिनुभयो । उहाँले काँधमा जिम्मेवारी थपिएको बताउनु भयो । उहाँले संयमित वातावरणमा लोकतान्त्रिक ढङ्गले विश्वासको मत पाएको पनि बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने सांसदहरू र सांसदप्रति आभार पनि व्यक्त गर्नुभयो ।

‘‘आजको संसदमा जीवन्त रूपले लोकतान्त्रिक अभ्यास भयो । बडो राम्रो संयमित वातावरणमा । यसले हाम्रो लोकतन्त्र अझ सजीव बनेको छ । अझ सुदृढ बनेको छ भन्ने मैले महसुस गरेको छु । मलाई प्रधानमन्त्रीको रूपमा जसरी विश्वासको मत प्राप्त भएको छ । तीन पटक, तीनवटा अलग अलग अनुभूति र अलग अलग अनुभव पनि भए । पहिलो पटकको अनुभव मैले पुरानै गठबन्धन बाट नै प्रधानमन्त्री बन्ने अन्तिम तयारी गरेको बेलामा नै अन्तिम घडीमा बालकोटमा गएर केपी ओलीजी लगायतको समर्थनमा म प्रधानमन्त्री बने ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘दोस्रो पटक पुरानै गठबन्धनमा फर्किएपछि झण्डैझण्डै शतप्रतिशत समर्थन मलाई प्राप्त भयो । विश्वासको मत यो रूपमा सदनबाट दुईजना छोडेर बाँकी सबैको समर्थन प्राप्त हुनेकुरा पनि नेपालको इतिहासमा एउटा असाधारण र अभूतपूर्व परिघटना थियो । मैले त्यो अनुभूति पनि गरेँ । सम्पूर्ण सदनको नै समर्थन हुँदा कस्तो हुँदोरहेछ नेतृत्वलाई भन्ने कुराको सकारात्मक, सुखद अनुभूति पनि गरेँ । आज फेरी नयाँ राजनीतिक समीकरणसहित विश्वासको मत लिदाँखेरीको अनुभव अझ बढी लोकतान्त्रिक ढङ्गले सजीव रह्यो । मेरो जिम्मेवारी अझ बढेको छ । राष्ट्र र जनताको पक्षमा राम्रा काम तीव्र गतिमा पुरा गर्ने, अगाडी बढाउने जिम्मेवारी हो यो । मेरो काँधमा जिम्मेवारी थपिएको छ । म सदनप्रति आभार व्यक्त गर्न चाहन्छु ।’’