• ४ जेठ २०८१, शुक्रबार

सरकारले सुशासन ल्याउने गरी काम गर्नुपर्नेमा सांसदको जोड

blog

काठमाडौं, फागुन ३० गते । राष्ट्रिय सभाका सांसदहरूले सरकारले मुलुकमा सुशासन ल्याउनेगरी प्रभावकारी ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसद जितजङ्ग बस्नेतले सरकारले जनताको पक्षमा मुलुकमा सुशासन ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद कृष्णबहादुर रोकायाले रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ र १२ मा पर्ने पृतीबाङ खोलामा पुल निर्माणका लागि ठेक्का लागेर सम्झौता भएको चार महिना हुँदा पनि काम सम्पन्न नभई अलपत्र छोडिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद पदमबहादुर परियारले सङ्घीय संसद् भवन अपाङ्गतामैत्री हुनुपर्ने माग गर्नुभयो । सांसद पूजा चौधरीले राष्ट्रिय परिचय पत्र बनाउने क्रममा महिला र पुरुषमा विभेद गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मनरुपा शर्माले किसानका उत्पादनको बजार व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद रुकमणि कोइरालाले महिला र बालबालिका अपहरण, अपहरणपछि बलात्कार र बलात्कारपछि हत्या गर्ने घटना बढ्दै गएको भन्दै अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो । सांसद विष्णुकुमारी सापकोटाले गर्मी मौसमको सुरुवातसँगै बाँके जिल्लामा फैलिएको औँलोलाई जतिसक्दो चाँडो रोकथामका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद विष्णुदेवी पुडासैनीले सरकारले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने माग गर्नुभयो । सांसद सावित्री मल्लले संविधानमा उल्लेख महिलाका अधिकारलाई कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सांसद विष्णुबहादुर विश्वकर्माले पनि मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस