• १६ वैशाख २०८१, आइतबार

प्रधानमन्त्रीलाई सबै दलले विश्वासको मत दिनु वाञ्छनीय

blog

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन ३० गते । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गो सदनले मिलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनु वाञ्छनीय हुने बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विश्वासको प्रस्ताव चित्तोबुझ्दो भएकाले त्यस प्रस्तावलाई सदनमा रहेका सबै राजनीतिक दलहरुले मिलेर पारित गर्नु उपयुक्त हुने उहाँले जिकिर गर्नुभएको हो ।

अध्यक्ष ओलीले प्रधानमन्त्रीले आफूमाथि विश्वासको मत माग्ने प्रश्ताव राख्ने क्रममा गर्नुभएको तर्क, विश्लेषण र नयाँ सत्ता समीकरण बनाउनुको कारणबारे दिएको स्पष्टीकरण चित्तबुझ्दो भएको पनि बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘‘प्रधानमन्त्रीको विश्वासको मत दिने प्रस्ताव वक्तव्य मैले राम्ररी सुनेँ । उहाँको तर्क, विश्लेषण, किन सरकार पुनर्गठन गर्नुपर्‍यो भन्ने कारण ।  अब उहाँ के चाहनुहुन्छ ? यसपछि भन्ने कारण, के का लागि यसो गर्नुभयो ? भन्ने कुरा । सबै कुराहरु सविस्तार बताउनुभयो र कुराहरु, कारणहरु चित्तबुझ्दो छ । म समर्थनबाटै सुरु गर्छु । यस सदनले सबैले मिलेर यस प्रस्तावलाई पारित गर्नु वाञ्छनीय छ जस्तो लाग्छ ।’’

ओलीले प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्ने पनि बताउनुभयो ।

‘सत्तागठबन्धन परिवर्तन गर्ने मुख्य पात्र प्रचण्ड र साथ दिने म पनि हो’
अध्यक्ष ओलीले नयाँ सत्ता समीकरण निर्माणमा वाह्य शक्तिको हात नरहेको बताउनुभएको छ । उहाँले नयाँ सत्ता समीकरण निर्माण गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले गरेको बताउनुभएको हो ।

नयाँ सत्ता समीकरण निर्माणको काम मुख्य पात्र प्रधानमन्त्री प्रचण्ड भएको र साथ दिने आफू पनि रहेको अध्यक्ष ओलीको दाबी थियो । उहाँले नयाँ सत्ता समीकरण निर्माणको जस छिमेकी मित्रहरुलाई दिने काम नगर्न पनि कांग्रेसलाई आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘‘राम्रो काम जति सबै आफूले गरेको भन्छ नेपाली कांग्रेस । राम्रो जति सबै आफैँले गरेको । अरुलाई एक छेउ जस दिन्छ ? यस पल्ट पनि नेपाली कांग्रेस मात्रै होइन, अरुअरु यसो छरछिमेकका मित्रहरु पनि यतिको काम त हामीले गरेको भनेर जस दिए हुन्छ नि । सरकार परिवर्तन, यताउता । यी साना कामहरु । हाम्रो देश भित्रका कामहरु त हामीले गरेको भने हुन्छ । को आयो, कुन देश आयो, कसले गर्‍यो ? कहाँ अर्कालाई जस दिएको ? हामीले गरेको । प्रचण्डजी मुख्य हो यो परिवर्तन गर्ने । साथ दिने म पनि हो । दुई भाईलाई जस पनि हुन्छ नि अलिकति ।’’
अध्यक्ष ओलीले राम्रो कामको जस कांग्रेस एक्लैले लिने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।