• ७ पुस २०८१, आइतबार
blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोपका लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताउनुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्नुहुँदै संसदमा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताउनुभयो ।

“सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ ।”


संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले कुनै बेला संसदमा उभिएर राजनेता घोषणा गरेको स्मरण गर्नुभयो ।

राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्छ
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । उहाँले राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिनुभयो ।


“यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्‍याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ । राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट । उपराष्ट्रपति हुनुहुन्छ जनता समाजवादी पार्टीबाट । सभामुख हुनुहुन्छ, नेकपा (एमाले)को पृष्ठभूमिबाट । राष्ट्रियसभा अध्यक्ष हुनुहुन्छ माओवादी केन्द्रको पृष्ठभूमिबाट । उपसभामुख हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट । सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ ।”

प्रधानमन्त्री‘प्रचण्ड’ले विश्वासको मत लिनुअघि प्रतिनिधिसभामा गर्नुभएको सम्बोधनको पूर्णपाठ

सम्माननीय सभामुख महोदय,

नेपाली कांग्रेसले सरकारमाथिको समर्थन फिर्ता लिएपछि संविधानतः विश्वासको मत लिन म यो रोष्टममा उभिएको छु ।

सरकार पुनर्गठन र नयाँ समीकरणको आवश्यकताबारे मैले यसअघि नै सम्मानित संसदलाई जानकारी गराइसकेको छु । त्यसको औचित्य आज यो सम्मानित संसदमा भाषणबाट होइन, मेरा कामबाट प्रमाणित गर्न प्रतिबद्ध छु, त्यसका लागि यो सार्वभौम संसदको विश्वास चाहन्छु ।

प्रधानमन्त्रीका रुपमा मैले समस्याग्रस्त अर्थतन्त्र जिम्मा लिएको थिएँ । अर्थतन्त्र सुधारका लागि म सुरुदेखि नै अनवरतरुपमा लागेँ । पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकांश सूचकहरू राम्रा हुँदै गएका छन् । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा २९७ अर्ब ७२ करोड रुपियाँले शोधनान्तर बचत छ भने, विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपियाँ बराबर पुगेको छ । व्यापार घाटा १.८ प्रतिशतले घटेको छ । आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फीति ५.१ प्रतिशतमा सीमित गरिएको छ भने कर्जा प्रवाह ४.७ प्रतिशतले बढेको छ । यो तालिकालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन । पुँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्ने मेरो उद्देश्य छ । प्रशासनयन्त्रलाई चुस्त दुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु मेरो प्राथमिकता हुनेछ ।


बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको छ भने ऋणको ब्याजदर पनि घटेको छ । व्यापार घाटामा कमी आएको छ, तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढे्को छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन ।

मेरो भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दीर्घकालिन जलविद्युत् सम्झौताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ । हाम्रो समृद्धिका लागि यो नेपाली इतिहासकै सबैभन्दा ठूलो र दूरगामी महत्वको सहमति हो भन्ने मेरो विश्वास छ । भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको नजिक पुगेका छौँ । नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुँदैछ । चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ । यो पनि सानो उपलब्धि होइन । तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नु छ ।

जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमण र दुबईमा सम्पन्न ‘कोप–२८’ मा नेपालको प्रस्तुतिबाट हामीले सन्देश दियौं, अब जलवायु सङ्कटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्नेछ ।

सरकारका उपलब्धिहरुको सूची सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यत्ति उपलब्धि पर्याप्त थिएनन् । प्रधानमन्त्रीका रुपमा म जस्तो सङ्कल्पका साथ सक्रिय थिएँ, टिम त्यही गतिको नभएको मेरो अनुभव रह्यो । सरकारको गेयर परिवर्तन गर्ने हो भने सरकार र गठबन्धन पुनर्गठन गर्नैपर्ने मेरो बाध्यता रह्यो ।  

सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि नेपाली कांग्रेसका केही साथीहरुले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो । खासमा म यी आक्षेपहरुको ठूलो प्रतिवाद गर्न चाहन्नथेँ । निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ । अझ आज विश्वासको मत लिने दिनमा त यस्तो विषयमा प्रवेश नै नगर्नु राम्रो हुने थियो । तर, संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाला भन्ने चिन्ताले मात्रै म आफ्नो पक्ष राख्न चाहन्छु ।

नेपाली कांग्रेसका साथीहरुले कुनै बेला यही रोष्टममा उभिएर मलाई राजनेता घोषणा गर्नुभएको थियो । मेरो त्यो पदवी अहिले पनि सम्मानित संसदको रेकर्डमा सुरक्षित छ । त्यही राजनेता सरकार पुनर्गठनसँगै आज ठूलो विश्वासघाती र धोकेबाज भएको छ । निरन्तर सङ्घर्षरत नेपाली कांग्रेसभित्रका विचार समूहहरुले युद्धविराम नै गरेर मप्रतिको निन्दा अभियानमा प्रतिस्पर्धा गरिरहेका छन् । पछिल्लो एक वर्षमा कांग्रेसका विचार समूहहरुको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आजित भएको म आज कांग्रेसभित्रको आन्तरिक एकत्वको कारक बन्न पाएकोमा खुसी नै छु । साथीहरुलाई आग्रह छ, यो युद्धविरामलाई स्थायी शान्तिमा बदल्नुस् र नेपाली कांग्रेसलाई एकीकृत गर्नुस् । त्यसो हुँदा ममाथिको अन्यायपूर्ण निन्दा पनि कांग्रेसका लागि योगदान नै हुन सक्छ । 

विगतमा म नेपाली कांग्रेसको समर्थनमा केवल एकपटक प्रधानमन्त्री भएको छु तर माओवादी केन्द्रको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई पटक प्रधानमन्त्री हुनुभएको छ ।  मैले राजनीतिक सहमतिको पूर्ण पालना गर्दै प्रधानमन्त्री पद नेपाली कांग्रेसलाई हस्तान्तरण गरेको थिएँ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीमा मलाई दिएको वचनमा विश्वासघात भयो । आज मलाई गाली गरिरहेका साथीहरुलाई म सोध्छु, मैले कहिल्यै यो संसद् र बाहिर धोकाको शोकगीत गाएँ ? मैले कहिल्यै कसैलाई आरोप लगाएँ ? मैले कहिल्यै कुनै कार्यक्रममा नेपाली कांग्रेसका साथीहरुको मानमर्दन गरेँ ? गरिनँ । मैले त बरु राष्ट्रिय सहमतिको आधार तयार गर्न नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गरेँ । त्यसले मलाई प्रधानमन्त्री बनाएको गठबन्धनमा अविश्वास पैदा भयो । धोकाको आरोप बरु मलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका दलहरुले लगाउन मिल्छ, नेपाली कांग्रेसले मिल्दैन ।

धोकाकै कुरा गर्ने हो भने हामीसँग लामो फेहरिस्त छ । माओवादीले मुख्यमन्त्री पाउने सहमति भइसकेको कोशी प्रदेशमा कांग्रेसको एउटा समूहको विद्रोह र पार्टी केन्द्रबाट त्यसको अनुमोदन माओवादीका लागि धोका थियो कि थिएन ? राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवारमाथिको अन्तरघात धोका थियो कि प्रेम ? महासमिति बैठकमा विना सन्दर्भ गठबन्धनको निन्दा र भत्र्सना सहयात्रीको अवमूल्यन हो कि होइन ? महासमिति बैठकमा धर्मका नाममा हस्ताक्षर अभियान र त्यसलाई नेतृत्वको संरक्षण संविधानमाथिकै धोका हो कि होइन ? तर, म यस्ता विषयको निजीकरण गर्न र नेतृत्वमाथि व्यक्तिगत आक्रमण गर्न चाहन्नँ । राजनीतिक विषयको प्रतिवाद राजनीतिक ढंगबाटै हुनुपर्छ । नेपाली कांग्रेसका साथीहरुबाट पनि म त्यही अपेक्षा गर्दछु ।

यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्‍याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु । अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ । राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट । उपराष्ट्रपति हुनुहुन्छ जनता समाजवादी पार्टीवाट । सभामुख हुनुहुन्छ, नेकपा (एमाले)को पृष्ठभूमिबाट । राष्ट्रिय सभा अध्यक्ष हुनुहुन्छ माओवादी केन्द्रको पृष्ठभूमिबाट । उपसभामुख हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट । सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ । सम्मानित संसदलाई मेरो अपिल छ, राष्ट्रिय समस्याहरुको समाधानका लागि पनि हामी सबै एक ठाउँमा उभिनैपर्छ र राष्ट्रका सम्भावना हासिल गर्न पनि हामीले राष्ट्रिय एकता कायम गर्नैपर्छ ।

सभामुख महोदय,
सरकार गठनमा सहभागी दलहरुबीच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको छ  र सम्भवतः आज बेलुकासम्म त्यो सार्वजनिक हुनेछ । त्यही कार्यक्रम सरकार सञ्चालनको मूल आधार हुनेछ । सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुनेछन् । राजस्वको लक्ष्य पूरा गर्न, पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन सरकारले नयाँ कार्यक्रमहरु ल्याउनेछ । आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्व सरकारको प्राथमिकता हुनेछ ।

सरकार पुनर्गठनसँगै पुँजीबजारमा आएको सकारात्मक परिवर्तनलाई मैले सरकारप्रति जनअनुमोदन र समर्थनका रुपमा बुझेको छु । सोमबार मात्रै मिटर ब्याज पीडितहरुसँग चारबुँदे सहमति भएको छ । वित्तीय अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउने सरकारको अठोट छ । रोजगारी सिर्जना र आयात प्रतिस्थापन सरकारका प्राथमिकता हुनेछन् । पर्यटनमा अहिले देखिएको सुधारलाई कायम राख्दै पर्यटक सङ्ख्या कम्तीमा दोब्बर बनाउने लक्ष्य लिइनेछ । वैदेशिक रोजगारीमा जानेलाई बैंकको ऋणको व्यवस्था गरिनेछ र स्वदेश फर्केकालाई पनि सीप अनुसारको व्यवसायका लागि सुलभ ऋणको ग्यारेन्टी गरिनेछ । सङ्घीयता कार्यान्वयन, राष्ट्रिय हितको रक्षा गर्ने स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन सरकारको प्रतिबद्धता हुनेछ । शान्ति प्रक्रियाको निरुपण सरकारको प्राथमिकता हुनेछ । सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिक मैत्री हुनेछ । राज्यका सबै संरचनामा सदाचार र जवाफदेहिता कायम गरिनेछ । अहिले सु्न्दा अविश्वसनीय लाग्ला तर निजी क्षेत्रसमेतको सहभागितामा हजारौं उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिनेछ ।

संविधानको भावनाविपरीतका थरीथरीका विचलन रोक्न म संसद्सँग विश्वासको मत माग्दछु । अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन जरुरी छ । पछिल्ला सबै आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्ताप्रति गौरवबोध गर्न मलाई संसद्को समर्थन चाहिएको छ । 

म सम्मानित संसद्लाई विश्वास दिलाउँछु हजारौं नयाँ स्टार्टअप र उद्यमशीलता केही महिनामैं सुरु हुनेछन् । आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ । म सरकारलाई तथ्याङ्क केन्द्रित गर्नेछु । देशमा महामारीका रुपमा फैलिएको पलायन र निराशा रोक्नेछु । सुशासनमा अहिलेसम्म भएका प्रयासले लोकतन्त्रप्रति जनताको आस्था पुनः स्थापित गरेका छन् । तिनमा गुणात्मक परिवर्तन ल्याइनेछ । सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिकमा राज्यप्रति भरोसा जगाइनेछ । सुस्त कर्जा प्रवाह, मध्मवर्गीय उपभोगमा आएको गिरावट र पुँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ ।

सभामुख महोदय,
मैले निरन्तर भनिरहेको छु, अघिल्लो सत्ता–गठबन्धनमा म व्यक्तिका रुपमा अप्ठ्यारोमा थिइनँ । प्रधानमन्त्री पद पनि असुरक्षित थिएन ।  सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल नगरेको पनि होइन । तर देश आज औसत उपलब्धिहरुमा रमाउन सक्ने अवस्थामा छैन । औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्नभन्दा जोखिम उठाएरै भए पनि देश र जनताको हितमा युगान्तकारी काम गर्ने मेरो सङ्कल्प छ । आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्नेछु । मेरो प्रतिबद्धतामा यो सम्मानित संसद्ले विश्वासको मोहोर लगाउने छ भन्ने मेरो विश्वास छ । धन्यवाद । 

यो पनि पढ्नुहोस

प्रधानमन्त्रीले विश्वासको मत लिँदै (प्रत्यक्ष प्रसारण)

निरन्तरको प्रयासले आर्थिक सूचक सकारात्मक