• १४ जेठ २०८१, सोमबार

दोलखादेखि कालिञ्चोकसम्म

blog

श्रीनिम बस्नेत 

कक्षाः ५, प्रज्ञाकुञ्ज स्कुल 

नयाँ बानेश्वर, काठमाडौँ

हामी २०८० साल पुस २० गते शुक्रबार दोलखा जिल्लाको भ्रमणमा गयौँ । स्कुलमा जाडो बिदा भएकाले हामी घुम्न गएका हौँ । दोलखा जाँदा काठमाडौँबाट गाडी चढेपछि भक्तपुर, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक हुँदै दोलखा सदरमुकाम चरीकोट पुगिने रहेछ । चरीकोटबाट केही पर दोलखा बजारमा मेरो आफन्तको घर भएकाले बास बस्न त्यता गयौँ । काठमाडौँ छोडेर म पहिलो पटक गाडीको लामो यात्रामा हिँडेको थिएँ । दोलखामा बस्दा, दोलखा भीमसेनको मन्दिर, कालिञ्चोक मन्दिर र जिरी घुम्न पाएँ । ती सबै ठाउँको घुमघामका बारेमा केही लेख्दै छु ।

हामी काठमाडौँबाट विद्युतीय गाडी (इभी) चढेर गएका थियौँ । करिब पाँच घण्टामा दोलखा पुगेपछि एकछिन आराम गरेर म फुटबल खेल्न गएँ । त्यसपछि साँझ दोलखा भीमसेन मन्दिरमा गयौँ । यो मन्दिर नेपालमै चर्चित छ । मन्दिरमा साँझको बत्ती बालेको हे¥यौँ । हामी जान ढिला भएकाले मन्दिरको मूल ढोका बन्द भइसकेको थियो । फेरि अर्को दिन बिहान भने मन्दिर पुग्यौँ र पूजाआजा ग¥यौँ ।  

हामी गएको दोस्रो दिन शनिबार थियो । त्यो दिन हामी बिहान ७ बजेतिर कालिञ्चोक जानका लागि हिँड्यौँ । केही आफन्तसहित हामी नौ जना थियौँ । कालिञ्चोक धेरै अग्लो डाँडामा छ भन्ने सुनेको थिएँ । हामी गाडीबाट गइसकेपछि फेरि केबुलकार चढेर गयौँ तर केबुलकारबाट ओर्लिएर पनि फेरि १० मिनेट जतिमा मन्दिर भएको ठाउँ माथि पुग्यौँ । पहिलो पटक जानेले अण्डा पनि चढाउनु पर्छ भन्ने हुन्छ रे त्यही भएर हामीले अन्डासँगै फूलमाला तथा पूजाका सामग्री चढायौँ ।

कालिञ्चोक मन्दिर तीन हजार आठ सय ४२ मिटर उचाइमा रहेछ । धेरै उचाइमा भएकाले मन्दिर भएको ठाउँ डाँडामा पुग्दा अक्सिजन कम भएर कसैलाई गाह्रो हुन्छ भन्ने कुरा भएको थियो । मलाई चाहिँ त्यस्तो अप्ठ्यारो महसुस भएन तर मानिस बस्दै बस्दै गएको देखेँ । एकदमै ठाडो डाँडामा पुग्नुपर्ने भएकाले खुड्किला नै खुड्किला (भ¥याङ) बनाइएको रहेछ । जाने खुड्किलो त ठिकै थियो तर फर्किने खुड्किला भत्किएका थिए । 

केही ढुङ्गा फुटेर टेक्दा लडिन्छ कि भन्ने खालको डरलाग्दो थियो । छेउमा रेलिङ त राखिएको रहेछ तर त्यो पनि हल्लिने खालको थियो । धेरै मान्छेको भिड हुने हो भने त ओर्लिन एकदमै डर लाग्ने खालको थियो तर सानो बच्चा पनि लिएर गएको देखेँ भने ज्येष्ठ नागरिक पनि ठाउँ ठाउँमा बस्दै गएको देखेँ । कालिञ्चोकमा हिउँ परेको बेला अझ धेरै मानिस जान्छन् रे हामी जाँदा भने हिउँ परेको थिएन । त्यस्तो अग्लो डाँडामा म र मेरो दिदी, बाबा, ममी र आफन्तसँग पहिलो पटक त्यहाँ पुगेका हौँ । 


जिरीको गाई गोठ

तेस्रो दिन पुस २२ गते दोलखाबाट सदरमुकाम चरीकोट बजार, तामाकोशी, मैनापोखरी हुँदै जिरी गयौँ । जिरीमा गाई फार्म रहेछ । त्यहाँ १५० वटा गाई रहेछन् । हामी गएको बेलामा जङ्गलबाट गाई फर्किरहेको थियो । सबैको कोठा र कोठाभित्र पनि आआफ्नो ठाउँ हुँदो रहेछ । ती गाई हरेक दिन त्यसै गरी आफ्नै ठाउँभित्र बस्ने र खाने रहेछ । त्यहाँ गाईको दुध एक दिनमा छ सय लिटर हुन्छ रे । 

मैले त्यत्ति धेरै गाई पहिलो पटक देखेको अनि दुध दुहुँदै गरेको पनि पहिलो पटक नै देखेँ । जङ्गलबाट त्यत्ति धेरै गाई हेर्न पाउँदा रमाइलो पनि लाग्यो । गाई राखिएको नजिक नजिकै ठुलठुला बङ्गुर पनि थुप्रै रहेछन् । त्यहाँ गाई र बङ्गुरपालन हुँदोरहेछ । सरकारको कृषि पशुपन्छी विकास मन्त्रालयको राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालय अन्तर्गत गाई आनुवांशिक स्रोत केन्द्र भनिँदो रहेछ । जिरी जाने बाटोमा तामाकोशीमा माछा पनि खायौँ । खोला नदी हे¥यौँ अनि पुलमा फोटो पनि खिच्यौँ ।

तीन दिनको घुमघाम सकेर चौथो दिन बिहान ६ बजे दोलखाबाट हिँडेर ११ बजे काठमाडौँ आइपुग्यौँ । यस पटकको जाडो बिदा रमाइलो भयो ।