• १२ साउन २०८१, शनिबार

कला प्रदर्शनी सुरु

blog

लेखनाथ समाचारदाता

लेखनाथ, फागुन २० गते । पोखरामा शनिबारबाट प्रथम प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सुरुआत गर्नुभयो । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमको संयोजन सिर्जनशील कलाकार समूह पोखराले गरेको हो । ७४ कला प्रदर्शनीमा रहेको कार्यक्रम २३ गतेसम्म चल्ने छ । उपकुलपति लामाले कला समाजबाट निरपेक्ष हुन नसक्नेमा जोड दिनुभयो । “कलाकार केवल रङ र कुची चलाउने मान्छे होइन, कला सामाजिक रूपान्तरणको माध्यम पनि हो,” उहाँले भन्नुभयो, “हामी अहिले प्रदेशसम्म आइपुगेका छौँ, चाँडै स्थानीय तहसम्म पुग्नु छ ।” 

कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, सदस्यसचिव मनकुमार श्रेष्ठ, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ सौरगङ्गा दर्शनाधारी र सिर्जनशील कलाकार समूहका कार्यवाहक अध्यक्ष डिबी गुरुङले पनि बोल्नुभएको थियो ।