• १२ साउन २०८१, शनिबार

तीन विश्वविद्यालय उपकुलपतिविहीन

blog

काठमाडौँ, फागुन २० गते । तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् । यसअघि नियुक्त हुनुभएका उपकुलपतिको चारवर्षे कार्यकाल समाप्त भएका कारण ती विश्वविद्यालय शनिबारदेखि नेतृत्वविहीन भएका हुन् । कार्यकाल समाप्त भएका उपकुलपतिमा पूर्वाञ्चल विश्वविद्यालका प्राडा यादवराज कोइराला, सुदूरपश्चिम विश्वविद्यालयका प्राडा अमरराज जोशी र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राडा नन्दबहादुर सिंह रहनुभएको छ । 

उहाँहरूलाई चार वर्षअघि तत्कालीन प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले २०७६ साल फागुन १९ गते उपकुलपति नियुक्त गर्नुभएको थियो । यी विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गर्न शिक्षा मन्त्रालयले प्रक्रिया आरम्भ गरे पनि हाललाई स्थगित भएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिफारिस समिति गठन गरेर माघको अन्तिम साता सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान गरेको थियो । आवेदन आह्वान प्रक्रिया हालका लागि स्थगित गरिएको छ । प्रक्रिया स्थगित गर्नुको कारणबारे समितिले केही पनि खुलाएको छैन । माघ अन्तिम साता नै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिको आवेदन आह्वान गर्दा १८ जनाले सोचपत्रसहित चारवर्षे कार्ययोजना बुझाउनुभएको छ । उहाँहरूले आवेदन साथ पेस गर्नुभएको योजना तथा सोचपत्रको अध्ययन भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ ।