• १३ असोज २०८१, आइतबार

नवनिर्मित भवन हस्तान्तरण

blog

नवनिर्मित भवन पालिका अध्यक्षलाई हस्तान्तरण गरिदै । तस्विरः कोकिला भण्डारी

कोकिला भण्डारी

धनकुटा, फागुन १९ गते । साँगुरीगढी गाउँपालिका  –४ फाक्सिवमा नवनिर्मित स्वास्थ्य चौकीको भवन सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रूम्दाली राईलाई एक कार्यक्रमविच हस्तान्तरण गर्नुभएको छ । 

उक्त भवन निर्माण कार्य सम्पन्न पश्चात अलपत्र अवस्थामा थियो । भवन सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका आयोजना प्रमुख सुमन मिश्रले साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई र वडा कार्यालय प्रतिनिधिको रोहवरमा भवन हस्तान्तरणसम्बन्धी पत्र हस्तान्तरण गर्नुभयो । 

नवनिर्मित भवनमा ११ वटा कोठा र ४ वटा शौचालय रहेको भवन निर्माणको काम सम्पन्न गर्ने बिरुवा कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले जनाएको छ । निर्माण कम्पनीले भवन निर्माणको केही काम बाँकी राखेकाले ताकेता गरेपछि निर्माण कम्पनीबाट काम सम्पन्न भएलगतै हस्तान्तरण गरिएको आयोजनाका प्रतिनिधिले बताउनुभएको छ ।

पालिका अध्यक्ष राईका अनुसार नवनिर्मित भवन हस्तान्तरण नहुँदा जीर्ण स्वास्थ्य चौकीको भवनबाट सेवा सञ्चालन गर्नुपर्दा सेवाग्राहीलाई सेवा लिन र स्वास्थ्यकर्मीलाई सेवा दिन समस्या भएको थियो । भवन हस्तान्तरण भएसँगै स्वास्थ्य चौकीमा थप सेवा विस्तार हुने बताइएको छ । उहाँले चालु आर्थिक वर्षभित्र सबै रुग्ण योजना सम्पन्न गरी हस्तान्तरण प्रक्रियामा लगिने बताउनुभयो ।