• ७ जेठ २०८१, सोमबार

लक्ष्यअनुसार पूर्ण खोप अभियान चलाइने

blog

जिल्ला स्वास्थ्य कार्यालय इलामले दादुरा रुबेला खोप अभियानको तयारीबारेमा पत्रकारलाई जानकारी गराउँदै । तस्विरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, फागुन १९ गते । सरकारले आगामी सन् २०२६ सम्ममा नेपालमा दादुरा रुबेला रोगमुक्त देश बनाउने लक्ष्यसाथ इलाममा दादुरा रुबेला खोप अभियान चलाउने भएको छ ।  

आगामी फागुन २७ गतेदेखि चैत २ गतेसम्म यो खोप अभियानको तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयले आज पत्रकार भेटघाट गर्दै यो वर्ष नौ महिनादेखि पाँच वर्ष मुनिका १७ हजार ७२२ जना बालबालिकालाई दादुरा रुबेला खोप लगाउने तयारी गरिएको कार्यालयका खोप सुपरभाइजर गंगाधर पण्डितले बताउनुभयो । 

पण्डितका अनुसार जिल्लाका ९३ स्वास्थ्य संस्थामा चारसय २४ खोप केन्द्र तय गरिएको छ । कार्यालयका अनुसार गतवर्ष जिल्लामा पाँच वर्ष मुनिका १४ जना बालबालिकाले कुनै पनि खोप नलगाएको पाइएको थियो । यस्तै, दुईसय ८९ जना बालबालिकाको पूर्ण खोपमध्ये केही खोप छुटेको पाइएको थियो । 

गत वर्षको खोप अभियानमा यी सबै बालबालिकालाई पूर्ण खोप दिएर खोप पूरा गराउने लक्ष्य राखिएको थियो । यो वर्ष खोप पाउने उमेर समूहका सबै बालबालिकाको अवस्था बुझ्न गत माघ महिनामा सर्वेक्षण गरिए पनि त्यसको नतिजा भने आइनसकेको खोप सुपरभाइजर पण्डितले बताउनुभयो ।  

शिशु जन्मिएदेखि १५ महिनासम्म दिइने नियमित खोपमा अहिलेको अभियानमा चलाइने खोप थप डोज भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख आदित्य शाक्यले बताउनुभयो । ‘नौ महिना पूरा भएर भर्खरै मात्र खोप लगाइएको छ भने त्यस शिशुलाई थप डोजको खोप लगाउनुपर्छ, यो खोपले शिशुको रोगप्रतिरोधी क्षमता बढाउने काम गर्छ’ शाक्यले भन्नुभयो, ‘खोप लगाएपछि सामान्य ज्वरो आउन सक्छ, यसले कुनै असर गर्दैन, गरेको पनि छैन ।’

यसअघि नेपाल सरकारले सन् २०२३ लाई पूर्णखोप देश बनाउने लक्ष्य राखेको थियो । लक्ष्यअनुसार दादुरा रुबेला रोग निवारणको अवस्था नभएपछि आगामी सन् २०२६ लाई रोग निवारण वर्ष तय गरेको बताइएको छ । 

दादुरा रुबेला रोग हुँदा बच्चालाई उच्च ज्वरो आउने, शरीरमा मसिना डाबर देखिने, हाडजोर्नीहरु सुनिने, रक्तस्राव हुने, मस्तिष्कमा असर देखापर्ने, अन्धोपन हुने र बालबालिकाको मृत्युसम्म हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।