• १२ साउन २०८१, शनिबार

‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ सुरु

blog

एन्फा कम्युनिटी कोचिङ कोर्षको कोहलपुरमा शुभारम्भ गरिंदै । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन १९ गते । फुटबलका प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसाथ कोहलपुरमा ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ सुरु भएको छ । 

कोहलपुरको १३ बिघा मैदानमा चार दिनसम्म सञ्चालन हुने कोचिङ्ग कोर्षमा एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंहले प्रशिक्षण दिनुहुनेछ । 

जिल्ला खेलकुद विकास समितिको गठनपश्चात् पहिलो पटक आयोजना भएको सो प्रशिक्षण कार्यक्रमको कोहलपुर नगरपालिकाको सभाहलमा औपचारिक कार्यक्रम गरी उदघाटन गरिएको छ । 

सो कार्यक्रममा कोहलपुरका मेयर पूर्णप्रसाद आचार्य, उपमेयर सङ्गीता सुवेदी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एलवि क्षेत्री, एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का, एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंह, एन्फाका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाही, लुम्बिनी प्रदेश प्रशिक्षक जनक केसीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा कोहलपुरका मेयर आचार्यले कोहलपुरमा एन्फाका पदाधिकारी प्रशिक्षणका लागि आउनु गौरवको विषय भएको जनाउँदै अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपाललाई प्रतिनिधित्व गराउन नेपाली टिमलाई लिड गर्नु भएका हरि खड्का कोहलपुरमा उपस्थित हुनुलाई गौरव ठान्नुपर्ने बताउनुभयो । 

कोहलपुरमा रहेका १५ वटै वडालाई समावेश गराउनेगरी प्रशिक्षण कार्यकम आयोजना भएको र यो प्रशिक्षणबाट कोहलपुरले राम्रा कोचहरू पाउने मेयर आचार्यले बताउनुभयो । 

प्रशिक्षणमा बाँके, दाङ, कपिलवस्तुलगायत ६ वटा जिल्लाका ३५ बढी प्रशिक्षार्थीको सहभागिता छ । कोहलपुर नगरपालिका र रेसिङ सहारा क्लबबिचको सहकार्य र एन्फाको सहयोगमा सो कोचिङ कोर्ष सञ्चालन भएको हो । यस्ता कार्यक्रमले कोहलपुरलाई फुटबल हब बनाउन सहयोग गर्ने सहभागीले बताएका छन् ।