• १२ साउन २०८१, शनिबार

चितवन घटनाको अनुसन्धान गर्न माग

blog

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन १९ गते । चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालीन पोखरेलको केही दिनअघि सोही स्कुलको होस्टलमा मृत्यु भएको थियो । घटना शङ्कास्पद देखिएकाले गम्भीर ध्यानाकर्षण भएको काँग्रेसले जनाएको छ ।

विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी बालिकाको आकस्मिक बिदाइ अत्यन्तै दुःखद रहेको सो दलले जनाएको छ ।  “झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसपछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशङ्काको स्थिति अत्यन्तै गम्भीर छ” कांग्रेसले भनेको छ, “यो घटनालाई निष्पक्ष ढङ्गले गहन अनुसन्धान गरी छिटोभन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाहीका लागि सरकारसँग जोडदार माग गर्दछ ।”

यो दुःखद क्षणमा बालिका शालीन पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले उहाँको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको सो दलका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।