• १३ जेठ २०८१, आइतबार

नाकाबाट भित्रिँदै छ कोरोना

blog

गौरीफन्टा नाका भएर फर्किरहेका नेपाली ।

अविनाश चौधरी

धनगढी, फागुन १९ गते । सुदूरपश्चिमको नाकामा कोरोना देखा पर्न थालेको छ । भारतबाट फर्किनेहरूमा नाकामा कोरोना  सङ्क्रमण देखा पर्न थालेको हो । 

नाकामा रहेको हेल्थ डेस्कले शङ्कास्पद व्यक्तिहरूको एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भइरहेको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले जानकारी दिनुभयो । “कोरोना पोजेटिभ भएका व्यक्तिहरूलाई पहिलेजस्तै स्वास्थ्य मापदण्ड कायम गर्दै आइसोलेसनमा बस्नेगरी पठाउने काम भइरहेको छ” उहाँले भन्नुभयो । 

पछिल्लो एक साता नाकामा परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको छ । निर्देशनालयको अनुसार गौरीफन्टा नाकाबाट फर्किएका १३ र झुलाघाट नाका भएर फर्किएका चार जनामा कोरोना देखिएको छ । भेरियन्ट पहिचानको काम भने भएको छैन । जोशीले भन्नुभयो, “नयाँ वा पुरानो कस्तो भेरियन्ट हो, त्यो पहिचानका लागि नमुना पठाइएको छैन ।” 

कोरोनाको भेरियन्ट पहिचानका लागि काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा नमुना पठाउने काम गरिएको छ । सन् २०१९ बाट कोरोनाको कहर सुरु भएको थियो । त्यो बेलादेखि हालसम्म सुदूरपश्चिम प्रदेशमा छ लाख ७६ हजार ६२३ जनाको परीक्षण गर्दा ६२ हजार ५३१ जनामा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमणपछि प्रदेशमा ६३७ जनाले ज्यान गुमाइसकेका छन् ।