• १३ असोज २०८१, आइतबार

गण्डकी प्रदेश र एपिएफ फाइनलमा भिड्दै

blog

ध्यान कुलुङ
सङ्खुवासभा, फागुन १९ गते । 
कोशी प्रदेश मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र एपिएफबिच प्रतिस्पर्धा हुने भएको छ । गत मङ्गलबारबाट सङ्खुवासभाको खाँदबारी रङ्गशालामा सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टिम र प्रदेश फाइनलमा पुगेको हो ।

जम्मा २ पोलमध्ये ए पोलबाट विजेता बनेर आएको नेपाल पुलिस क्लबलाई हराउँदै गण्डकी प्रदेश फाइनलमा पुगेको हो । त्यस्तै, ए पोलबाट उपविजेता बनेर आएको त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ क्लब फाइनलमा पुगेको हो । गण्डकीले जम्मा पाँच सेटमध्ये प्रहरीलाई तीन सेट जित्दै फाइनलमा प्रवेश गरेको हो । त्यस्तै एपिएफले बेष्ट अफ फाइभको साझो सेटमा आर्मीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलमा गण्डकीसँग हार ब्यहोरेको पुलिसले लिक चरणमा गण्डकीलाई सोझो सेटमा हराएको थियो । त्यस्तै सोही चरणमा जम्मा पाँच सेटमध्ये पुलिसले तीन सेट जित्दै आर्मीलाई हराएको थियो ।

फाइनल खेल शनिबार दिउँसो १२ बजे सञ्चालन गरिनेछ । त्यस अघि तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित भएका त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा गराइनेछ ।

कोशी खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल सङ्घ सङ्खुवासभाको संयोजनमा आयोजित प्रतियोगितामा पाँच प्रदेश र तीन विभागीय टिमको सहभागिता रहेको थियो । सात प्रदेशमध्ये मधेश र बागमती प्रदेशको अनुपस्थिति रहेको हो ।

प्रतियोगिताको विजेताले कपसहित नगद तीन लाख रुपियाँ प्राप्त गर्ने छन् । त्यस्तै उपविजेताले शिल्ड सहित नगद एक लाख ५० हजार रुपियाँ, तेस्रो हुनेले शिल्ड सहित ५० हजार रुपियाँ प्राप्त गर्ने छन् ।