• ५ वैशाख २०८१, बुधबार

‘समृद्ध मेलम्ची हाम्रो सपना’

blog

सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये एक मेलम्ची नगरपालिकामा २०७८ सालको जनगणना अनुसार ४१ हजार ६३ जनसङ्ख्या रहेको छ । नगरपालिकाले ‘मेलम्ची समृद्धिको आधार : कृषि, पर्यटन, उद्योग र जलाधार’ भन्ने नारा तय गरेर विकास निर्माणको कार्यलाई अघि बढाएको छ । 

नगरपालिकाले पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्धनलगायतका क्षेत्रको विकासमा जोड दिएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख निर्वाचित हुनुभएका आइतमान तामाङसँग नगरबाट हालसम्म भए गरेका कामको सन्दर्भमा गोरखापत्र सिन्धुपाल्चोक समाचारदाता चित्र मिजारले गर्नुभएको कुराकानी :


मेलम्ची नगरको समृद्धिका लागि के कस्तो योजना तय गर्नुभएको छ ?

हामी निर्वाचित भएर आउँदै गर्दा नगरको केन्द्रबिन्दु मेलम्ची बजार बाढीको प्रकोपले ग्रस्त थियो । नगरका अन्य स्थानमा पनि विकास निर्माणका कामले खासै गति लिन सकेको थिएन । नगरका चार वटा वडा बर्सातको समयमा केन्द्रसँग सम्पर्कविहीन बन्नुपर्ने अवस्था थियो । यद्यपि हामीले आवधिक योजनामार्फत समृद्ध मेलम्चीको खाका बनाएर अघि बढ्यौँ । दोस्रो वर्षको करिब करिब अन्तिम समयमा आउँदा हामीले पूर्वाधार निर्माणमा धेरै काम अघि बढाएका छौँ । 

इन्द्रावती नदीमा बेलिब्रिज बनिसकेको छ । बाढीले पुल बगाएको दुई वर्ष बितिसक्दा पनि सङ्घ र प्रदेश सरकारको ध्यान नपुगेपछि मेलम्ची नगरपालिकाको वडा नं. ७ र ८ तथा हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिका जोड्ने फट्टेमा नगरको आन्तरिक स्रोतबाट ३७ करोड रुपियाँको लागतमा पक्की मोटरेबल पुल बनाउन डिपिआर गरेर टेन्डर प्रक्रियामा जान लागेको छ । १३ वटै वडा कार्यालयमा जाने सडक बाह्रै महिना सञ्चालन हुने गरी मर्मत भएका छन् । केही सडक कालोपत्रे गर्ने कामको प्रारम्भ भएको छ । खानेपानी व्यवस्थापनलाई अघि बढाएका छौँ । सिँचाइ सुविधा उपलब्ध गराएर कृषि उत्पादनलाई बढाउने नीति लिइएको छ । शैक्षिक सुधारका कार्यक्रम अघि बढाएका छौँ । विपन्न बालबालिकालाई छात्रवृत्तिको कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्य क्षेत्रका समस्या समाधानलाई ध्यान दिएका छौँ । 

कृषिलाई व्यावसायिकीकरण गर्दै युवा उद्यमीलाई अनुदानको व्यवस्था गरेका छौँ । पर्यटकीय क्षेत्रहरू गुफाडाँडा, भोटेचौर, धौलेडाँडालगायतका क्षेत्रमा पर्यटन प्रवर्धनका काम भएका छन् । आवश्यकता अनुसार कानुन र कार्यविधि निर्माण भएको छ । अधिकांश वडा कार्यालय र स्वास्थ्य संस्थाका भवन बनेका छन् । खेलाडीलाई प्रोत्साहन र खेलकुदका गतिविधि सञ्चालन गरिएको छ । सरकारले कक्षा ६ सम्म लागु गरेको दिवा खाजा कार्यव्रmमलाई नगरको आन्तरिक स्रोतबाट कक्षा १० सम्म खुवाउन थालिएको छ । सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणालीबाट वितरण गर्न थालिएको छ । पशुपालक किसानलाई पशु सुत्केरी पोषण तथा पशु बिमामा अनुदान दिने व्यवस्था गरिएको छ । पशु सुत्केरी प्रोत्साहनमा मात्र चालु आर्थिक वर्षको छ महिनामा १४ लाख २३ हजार रुपियाँ वितरण भएको छ । समग्रमा हामीले समृद्ध मेलम्ची निर्माणका लागि गर्नुपर्ने काममा कुनै कसर बाँकी राखेका छैनौँ ।

 नगरको समृद्धिका लागि कृषि, पर्यटन, उद्योग र जलाधार भन्ने चार खम्बे नीति अख्तियार गर्नुभएको छ, यी क्षेत्रको प्रवर्धनबाट मेलम्चीको विकास हुने कति सम्भावना छ ?

मेलम्ची कृषि उत्पादन निर्यात गर्ने क्षमता राख्दछ । यसलाई व्यवस्थित र व्यावसायिक बनाउन सकियो भने हाम्रो धेरै उत्पादन राजधानी पठाउन सकिन्छ । पर्यटनको हिसाबले पनि मेलम्ची, हेलम्बु र पाँचपोखरी जाने आधार शिविर पनि हो । त्यहाँ जाने पर्यटकलाई हामीले कम्तीमा एक दिन मेलम्ची राख्न केही संरचना निर्माण गर्ने योजना बनाएका छौँ । त्यसै गरी पर्यटकीय सम्भावना बोकेका गुफाडाँडा, गोल्मराजारानी, भोटेचौर, हैबुङ, धौलेडाँडालगायतका क्षेत्रको उचित प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटन प्रवर्धन हुन सक्छ । पर्यटनको माध्यमबाट रोजगारी सिर्जना गर्न हामीले होम स्टे सञ्चालन तालिम र अनुदानको समेत व्यवस्था गरेका छौँ । इन्द्रावती र मेलम्ची नदी हाम्रो आन्तरिक आम्दानीको प्रमुख स्रोत हो । यसका अलावा इन्द्रावती तेस्रो जलविद्युत् आयोजना यसै नगरपालिकाभित्र पर्दछ भने निर्माणाधीन तल्लो इन्द्रावती आयोजनासमेत यहीँ पर्दछ । यसर्थ हामीले यी चार क्षेत्रको प्रवर्धन गर्न सक्यौँ भने नगरको विकास र समृद्धि सम्भव छ ।

योजना तर्जुमा गर्दा बजेटको प्राथमिकीकरण कसरी गर्नुहुन्छ ?

बजेटको आफ्नो सीमा हुन्छ । केही ससर्त अनुदान हुन्छन् । तीबाहेकका योजना चयन गर्दा आवधिक योजनाले समेटेका र नागरिकका आवश्यकतालाई हामी पहिलो प्राथमिकतामा राख्छौँ । त्योबाहेक पूर्वाधार निर्माण मात्र विकास हो भन्ने मान्यताबाट बाहिर निस्केर सामाजिक र सामुदायिकसँगै चेताना वृद्धिको क्षेत्रमा पनि हामीले ध्यान दिँदै आएका छौँ । हाम्रो सपना समृद्ध मेलम्ची नगरपालिका भएकाले धेरै सङ्ख्याले लाभ लिने कामलाई हामी प्राथमिकता दिन्छौँ ।

आर्थिक स्रोतको हिसाबले मेलम्ची जिल्लामै अग्रपङ्क्तिमा आउँछ, कार्यसम्पादनको अवस्था कस्तो छ ?

भर्खरै प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा मेलम्ची मुलुककै स्थानीय तहहरूमा चौथो स्थानमा पर्न सफल भएको छ । त्यसै गरी स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पनि हाम्रो नगरपालिका जिल्लामै पहिलो स्थानमा पर्न सफल भएको छ । जनप्रतिनिधिको साथसहयोग र समर्थन अनि कर्मचारीको कार्यकुशलताले यो सम्भव भएको हो । विशेष गरी सुशासन, पारदर्शिता र जिम्मेवारीबोध कार्यालयभित्रको आवश्यकता हो । यस कुरामा हामी सचेत छौँ । अर्को कुरा सेवाग्राहीले कुनै पनि काममा झन्झट बेहोर्नु नपरोस् भन्ने विषयमा पनि हामीले ध्यान पु-याएका छौँ ।

पूर्वाधारबाहेकका क्षेत्रमा तपाईंले कत्तिको ध्यान दिनुभएको छ ?

विकास आवश्यकताको आधारमा हुने हो । आमनागरिकको चाहना पनि सडक, खानेपानी, सिँचाइ, भवन जस्ता पूर्वाधार निर्माण नै देखिन्छ । यद्यपि हामीले शैक्षिक क्षेत्र सुधारका लागि कार्यक्रम बनाएका छौँ । विद्यालयमा अपुग दरबन्दी आन्तरिक स्रोतबाट व्यवस्थापन गरेका छौँ । शिक्षकलाई प्रशिक्षणको व्यवस्था गरेका छौँ । कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले छात्रवृत्तिको कार्यव्रmम छ । स्वास्थ्य क्षेत्रमा पनि सङ्घीय दरबन्दीबाहेक नै नगर अस्पतालमा विशेषज्ञ डाक्टर नियुक्ति गरेर सामान्य शल्यक्रिया यहीँ गर्ने व्यवस्था भएको छ । कृषिलाई आधुनिकीकरण गर्ने योजना छन् । अर्गानिक र व्यावसायिक खेतीलाई प्रवर्धन गर्ने कार्यव्रmम छ । सहकारी, पर्यटनलगायतका क्षेत्रमा हामीले लगानी गरेका छौँ । यस्ता धेरै विषय छन्, जुन पूर्वाधारबाहेकका सामाजिक विकास हुन् ।

सङ्घ र प्रदेशको समन्वय र सहयोग कत्तिको पाउनुभएको छ ?

मैले अघि पनि भनेँ सङ्घीय र प्रदेश सरकारले चासो नदेखाएकै कारण मेलम्ची बाढीले बगाएको फट्टे पुल बनाउन नगरले आन्तरिक स्रोतबाट बनाउनुपर्ने अवस्था आएको छ । यस्ता ठुला योजनामा नगरले लगानी गर्नु परेपछि आमनागरिकका साना समस्यामा ध्यान पु¥याउन कठिन हुन्छ । हामीले नगर सभाबाट पारित गरेर पठाएका योजना प्राथमिकतामा पर्दैनन् । जस्केलाबाट योजना छिर्ने प्रवृत्तिको अन्त्य भएको छैन । हामी आवश्यकताका आधारमा योजना बनाउँछौँ तर सङ्घ र प्रदेश सरकारले पहुँचका आधारमा बजेट पठाउँदा काममा केही असहजता हुने गरेको छ ।