• १३ असोज २०८१, आइतबार

राष्ट्रिय महिला भलिबल : उद्घाटन खेलमा लुम्बिनी विजयी

blog

इमान सिं राना
रामपुर (पाल्पा), फागुन १९ गते ।
 प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश विजयी भएको छ । पाल्पाको रामपुरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ३/० को सोझो सेटमा पराजित गर्दै लुम्बिनीले विजयी यात्रा सुरुवात गरेको हो ।

खेलमा पहिलो, दोस्रो र तेस्रो सेट क्रमशः २५/९, २६/२४ र २५/९ अङ्क लुम्बिनीले हात पारेको थियो । जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना र प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धन तथा मुख्य प्रायोजनमा भएको  प्रतियोगितामा शुक्रबार तीन खेल भएको थियो । लुम्बिनीसँगै एपीएफ क्लब र बागमती प्रदेशले पनि विजयी यात्रा सुरु गरेको छ  । बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशलाई ३/० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । खेलमा २५/३, २५/५ र २५/३ अङ्कसहित तीन सेट आफ्नो पक्षमा पार्दै बागमतीले सहजै जित निकालेको थियो ।

यस्तै, एपीएफ क्लबले कर्णाली प्रदेशलाई ३/० सेटले हराएको छ । २५/९, २५/५ र २५/१० अङ्कसहित लगातार हराउँदै एपीएफले जितको यात्रा थालनी गरेको हो । प्रतियोगितामा एपीएफ क्लबसहित सात प्रदेश गरी आठ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा शनिबार लिग चरणको पाँच वटा खेल हुने आयोजकले जनाएको छ । सहभागी टिममध्ये समूह ए तर्फ एपीएफ क्लब, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छ भने समूह वि तर्फ बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र कोशी प्रदेश रहेको छ ।

रामतुलसी नमुना माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश (सी.के) गुप्ताले खेल जगतको विकासका लागि कुनै किसिमको राजनीतिक हस्तक्षेप हुन नहुने बताउनुभयो । उहाँले प्रदेश सरकारले खेल क्षेत्रको पूर्वाधार विकास सँगै खेलाडीको क्षमता विकासको लागि पहल गरिरहेको बताउनुभयो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनालले जिल्लामा राष्ट्रिय स्तरको खेल हुनु गौरवको विषय रहेको बताउनुभयो । रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले राष्ट्रिय स्तरको खेलले नयाँ खेलाडीहरूलाई थप उत्प्रेरणा प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले खेलको माध्यम बाट रामपुर क्षेत्रको प्रवर्द्धनका लागि प्रतियोगिता गरिएको बताउनुभयो । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेलकुदले देशको पहिचानसँगै लैङ्गिक समानतामा उदाहरण पेस गरेको बताउनुभयो ।

कार्यक्रममा जापनिज समाजसेवी काजुमासा काकिमी ओके बाजे, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले भूगोलको आधारमा जिल्लालाई हेर्ने मनोविज्ञान परिवर्तन गर्नमा प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो । फागुन २२ गते सम्म हुने प्रतियोगितामा विजेता हुने प्रथम, द्वितीय, तृतीय र सान्त्वना समूहले क्रमशः नगद दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।