• १२ मंसिर २०८१, बुधबार

पुनर्निर्माणको पर्खाइमा जाजरकोटी दरबार

blog

वासुदेव शर्मा

जाजरकोट, फागुन १९ गते । भूकम्पबाट क्षतिग्रस्त जाजरकोटी राजदरबार पुनर्निर्माणको कुनै पहल हुन सकेको छैन । सेतो दरबारका रूपमा परिचित सो दरबार जाजरकोटी राजा इन्द्रनारायण शाहका पालामा १८५२ सालमा निर्माण गरिएको बताइन्छ । सेतो दरबारभन्दा अघि पश्चिमतर्फ रातो दरबार १८०० देखि १८११ सालमा निर्माण गरिएको भनाइ छ । सो दरबारबाट जाजरकोट राज्यको राजकाज सञ्चालन गरिन्थ्यो । १९९० साल माघ २ गतेको महाभूकम्पले समेत सो दरबार क्षतिग्रस्त भएको बताइन्छ । त्यसपछि पुनर्निर्माण गरिएको सो दरबार २०५१ सालमा मर्मत गरिएको थियो । कसैले सात तला कसैले पाँच तलाको भन्ने गरिए पनि सो पाँच तलाको भएको बुझिन्छ । भूकम्पले बस्न नमिल्ने बनाएपछि पुनर्निर्माण गर्दा तीन तलाको बनाइएको पाइन्छ ।

नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा परेको जाजरकोटी दरबार पुनर्निर्माणमा राज्यले खासै चासो दिएको पाइन्न । कात्तिक १७ को जाजरकोट भूकम्पले सो दरबार क्षतिग्रस्त भएको छ । जाजरकोटका राजेन्द्रविक्रम शाहका अनुसार सेतो दरबारबाट सात जना राजाले राज्य गरेको पाइन्छ । जाजरकोटी अन्तिम राजा प्रकाशविक्रम शाहले २०२४ सालमा नेपाल सरकारलाई ६० हजार रुपियाँमा बिक्री गरेका थिए । त्यसपछि सो दरबार सरकारी सम्पत्तिका रूपमा प्रयोग गरिँदै आएको छ । विसं २०१७ देखि सो दरबारमा जाजरकोटी राजाका परिवार बस्न छोडेको स्थानीय पाका व्यक्तित्व बताउँछन् ।

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अगुवाइमा दरबार सङ्ग्रहालय बनाउने अभियान सुरु गरिएको छ । रातो दरबारमा जिल्ला समन्वय समिति र सेतो दरबारमा जिल्ला प्रशासन कार्यालय सञ्चालनमा छन् । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीका अनुसार दरबारका दुई वटै भागमा भूकम्पले क्षति पुगेको छ । दरबारमा प्रयोग भएको झ्यालको कला तथा रूपरेखा हेर्दा सुरुकै स्वरूपमा निर्माण गरिएको देखिन्छ । सरकारले संरक्षण तथा हेरविचार नगर्दा मौलिक स्वरूपको अस्तित्व गुम्दै गएको बताइन्छ । रातो दरबारमा मन्दिर शाहदेखि गजेन्द्रनारायण शाह गरी चार जना राजा र सेतो दरबारमा इन्द्रनारायण शाहदेखि अन्तिममा प्रकाशविक्रम शाहले शासन गरेको पाइन्छ । अन्तिम भनिएका राजा प्रकाशविक्रम शाह जाजरकोटमा बसेनन् । त्यस समय मुलुकबाट राजारजौटा उन्मूलन भइसकेको थियो ।  

ऐतिहासिक तथा पुरातात्त्विकले महत्वपूर्ण कर्णाली प्रदेशको पर्यटकीय गन्तव्यका रूपमा रहेको दरबार पुनर्निर्माणमा सरकारले ध्यान दिनुपर्ने प्रतिष्ठानका अध्यक्ष केसीको माग छ । प्रतिष्ठानले तीन वटै सरकारलाई जाजरकोटका जनप्रतिनिधिमार्फत दरबार पुनर्निर्माण गरी ऐतिहासिक दरबार सङ्ग्रहालय निर्माण गर्न अनुरोधपत्र बुझाएको छ ।