• १४ मंसिर २०८१, शुक्रबार

पाठ्यपुस्तक बनाउँदै पालिका

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, फागुन १९ गते । आँधीखोला गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक बनाउने काममा तीव्रता दिएको छ । गत वर्षबाट कक्षा १ देखि ८ सम्म पाठ्यक्रमका आधारमा स्थानीय सामग्री पढाएको आँधीखोलाले आगामी आर्थिक वर्षमा स्थानीय पाठ्यपुस्तकबाटै पठनपाठन गराउने तयारी गरेको हो । 

प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले गाउँपालिकाले जनप्रदीप माविका प्रधानाध्यापक डिलबहादुर थापाको संयोजकत्वमा पाठ्यक्रम तथा पाठ्यपुस्तक उपसमिति निर्माण गरेको जानकारी दिनुभयो ।  

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक लेखनको काम सकिसकेको तथा ६ देखि ८ को अन्तिम चरणमा पुगेको अधिकारीले बताउनुभयो । विज्ञको सल्लाह अनुसार नौ वटा टिम बनाएर विधागत हिसाबले लेखनको काम भइरहेको पालिका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो । 

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्रका आवश्यक विषयवस्तु समेटेर पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरी पठनपाठन गर्न सक्ने निर्देशिका जारी भएसँगै स्थानीय तहलाई स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने बाटो खुलेको थियो । स्थानीय तहले पालिकाभित्र रहेका विभिन्न भाषा, धर्म, संस्कार, संस्कृति, कृषि, पर्यटन, कला, वन, जडीबुटी, सम्पदासहितका विषयवस्तु समेटेर पाठ्यपुस्तक तयार गरेका छन् । 

यहाँ भिरकोट र वालिङ नगरपालिका तथा फेदीखोला, बिरुवा र कालीगण्डकी गाउँपालिकाले कक्षा १ देखि ८, अर्जुनचौपारीमा कक्षा १ देखि ५, पुतलीबजार नगरपालिकाले कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम बनाएर पाठ्यपुस्तक निर्माण गरेर पठनपाठन गरेको हो । 

चापाकोट नगरपालिका, हरिनास गाउँपालिकामा कक्षा १ देखि ८ को पाठ्यक्रम निर्माण गरेर पाठ्यपुस्तक निर्माण गर्ने तयारी गरेका छन् । गल्याङ नगरपालिकाले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम निर्माण गरेर आंशिक रूपमा पठनपाठन गराएको छ । स्थानीय तहले पाठ्यक्रम र पाठ्यपुस्तक बनाएर पठनपाठन गराउन थालेसँगै विद्यार्थीले आफ्नो पालिकाको विषयमा जान्ने अवसर पाएका छन् ।