• १२ साउन २०८१, शनिबार

गोर्खा स्मारक निर्माण सुस्त

blog

अर्जुन काफ्ले

स्याङ्जा, फागुन १९ गते । स्याङ्जाको फेदीखोला गाउँपालिका–१, साल्मेडाँडा रामकोटमा निर्माणाधीन गोर्खा स्मारकको निर्माणको गति सुस्त छ । गोर्खा स्मारक ट्रस्टमार्फत विभिन्न पाँच वटा परियोजना रहेको बृहत् योजना निर्माण २०७० सालदेखि सुरु भएको हो । सन् १८१४ देखिका लडाइँ तथा प्रथम र दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गरेका वीर गोर्खालीको पुस्तौँसम्म स्मरण गराउने उद्देश्यले स्मारकसहितको बृहत् योजना अगाडि बढाइएको हो । 

निर्माण सुरु भएको १० वर्ष हुँदा बल्ल पहिलो चरणको समाधिस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । समाधिस्थल प्रवेश गर्ने स्थानमा गोलार्ध बनाइएको छ । भुइँमा ब्लक र ढुङ्गा बिछ्याइएको छ । चारैतर्फ पर्खाल निर्माण कार्य भइरहेको छ । गोरखा समाधि निर्माण गरिएको छ । सुविधा सम्पन्न शौचालय र आवास निर्माण गरिएको छ । सहयोगीका नाम लेख्न टावरसमेत निर्माण गरिएको छ । निर्माण गरिएको समाधिस्थल अपाङ्गमैत्रीसमेत छ । 

ट्रस्टका महासचिव डा. चन्द्रबहादुर गुरुङले पानीको फोहरा जडान र गोर्खा राइफल सैनिकको मूर्ति राख्न बाँकी रहेको बताउनुभयो । समाधिस्थलमा भारत स्वतन्त्र हुनुपूर्व सन् १९४७ अघि सैन्य पोसाक लगाएका गोर्खा राइफल सैनिकका मूर्ति राखिने छ । प्रथम र द्वितीय विश्वयुद्धलगायत अन्य क्षेत्रीय युद्धमा मारिएका एक लाख नेपालीको समाधि बनाउन पनि बाँकी छ । 

उहाँले प्रथम विश्वयुद्धमा मारिएका २० हजार र द्वितीय विश्वयुद्धमा मारिएका २३ हजार जनाको नाम सङ्कलन भइसकेको र अन्यको नाम सङ्कलन कार्य धमाधम भइरहेको बताउनुभयो । गोर्खाली सेना र इस्ट इन्डिया कम्पनी सेनाबिच गोर्खा राज्य विस्तारका क्रममा मारिएकाको पनि यहाँको शिलालेखमा नाम कुँदिने छ । 

गोर्खा राइफल आर्मीको मूर्ति काठमाडौँमा तयार भइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, “सुरक्षाका कारण मूर्ति ल्याइएको छैन । तारबार गरिएसँगै २१ जातिका धर्मगुरुले तान्त्रिक वैदिक रीति अनुसार प्राणप्रतिष्ठा गरेर मूर्ति राख्ने छौँ ।” 

उहाँले समाधिस्थलको काम सकिनेबित्तिकै अन्य परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्य अगाडि बढाइने बताउनुभयो । परियोजनाभित्र गोर्खा सङ्ग्रहालय, गोर्खा टावर, २१ जातीय घर, पोखराको फुस्रेखोलाबाट केबलकार तथा तीन डिब्बाको रेल बनाउने योजना रहेका छन् । गोरखा टावर ७० मिटर अग्लो हुने छ र यो पेरिसको एफिल टावर जस्तै तयार गरिने छ । यसमा चढेर पोखरा नियाल्न सकिने छ । यसै गरी सुविधा सम्पन्न होटल पनि निर्माण गरिने छ । जातीय घरहरू निर्माण गरिने छ र तिनको निर्माणको जिम्मा सम्बन्धित जातिलाई दिइने छ । पोखराबाट १७ किलोमिटर दक्षिण पश्चिममा पर्ने र कास्की तथा स्याङ्जाको सङ्गमस्थल साल्मेडाँडामा निर्माणाधीन बृहत् योजना ५२ रोपनी क्षेत्रफलमा फैलिएको छ । पहिलो चरणको समाधिस्थल निर्माणमा नेपाल सरकारको छ करोड रुपियाँ र गोर्खा लाहुरे तथा चन्दादाताको १९ करोड रुपियाँ खर्च भइसकेको छ भने अझै छ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । 

गोर्खा स्मारकका पाँच वटै परियोजना सम्पन्न गर्न दुई अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ । सम्पूर्ण निर्माण सम्पन्न गर्न अझै १० वर्ष लाग्ने अनुमान गरिएको छ । 

फेदीखोला वडा नं. २ का अध्यक्ष अभिलाष गुरुङले सुरुका वर्षमा निर्माण कार्यले गति लिए पनि पछिल्ला समयमा सुस्त बनेको बताउनुभयो । उहाँले स्मारक निर्माणपछि पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने र युद्धका बेला ज्यान गुमाउनेका जीवनी सबैले अध्ययन तथा अवलोकन गर्न पाउने बताउनुभयो ।