• १२ साउन २०८१, शनिबार

नागरिकका अपेक्षा पूरा गर्न सबै एकजुट बनौँ

blog

भरतपुर, फागुन १८ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विकास निर्माणका सवालमा सबै राजनीतिक दल एकजुट बन्नुपर्ने बताउनुभएको छ । आज भरतपुर भ्रमण वर्ष २०२४ को उदघाटनमा पूर्वप्रधानमन्त्री खनालले जनआन्दोलनपछि पटक-पटक सरकार परिवर्तन हुँदा पनि नागरिकको अपेक्षा पूरा गर्न नसकिएको भन्दै सबै राजनीतिक दल मिलेर नेपाललाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले अहिले राजनीतिक दलहरु हिँडेको बाटोको सीमक्षा गर्न आवश्यक रहेकोसमेत उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामी हिँडेको बाटोको एक पटक समीक्षा आवश्यक छ । कमजोरी कहाँ भएको छ । एकचोटी सबैले छातीमा हात राखेर मनन गरौँ । सबै एकजुट हुने हो भने समृद्धि सम्भव छ ।” नेता खनालले समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने सपना र दोस्रो जनआन्दोलनको उद्देश्य पूरा गर्नतिर लाग्नुपर्नेमा जोड दिनुभयो ।

“सबै मिलेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तय गरौँ । यसबाट सुन्दरतामा सुगन्ध पनि थपिन्छ”, उहाँले भन्नुभयो । उहाँले नेपालमा विराट सम्भावना रहेको र चितवन सभ्यता र सम्भावना बोकेको उपत्यका भएकोसमेत उल्लेख गर्नुभयो । “भरतपुरमा विकास र रुपान्तरणका प्रक्रिया आगाडि बढ्दै छन् । भ्रमण वर्षको उदघाटन महोत्सवका रुपमा स्थापित भएको छ”, उहाँले भन्नुभयो । 

खनालले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कि छोरी मात्रै नभई नेपालीकी छोरी भएको बताउनुभयो । “रेनु दाहालको नेतृत्वमा यो कार्यक्रम आयोजना भएको छ । प्रमुख दाहाल कमरेड पुष्पकमल दाहालको छोरी मात्र होइन नेपालकी छोरी हुनुहुन्छ । धैरै कामहरु पूरा गर्नुहोस् । शुभकामना दिन चाहन्छु”, उहाँले भन्नुभयो । उहाँले दाहालले लिएको नीतिबाट समृद्ध चितवन बन्न सकोस भन्दै कामनासमेत गर्नुभयो । सो अवसरमा उहाँले भरतपुरमा गरेको विकास निर्माण र भ्रमण वर्षको प्रशंसासमेत गर्नुभयो । रासस