• १२ साउन २०८१, शनिबार

एकसय ५४ जना मोतिबिन्दुका रोगीको शल्यक्रिया

blog

फुङ्लिङमा सञ्चालित आँखा शिविरमा आँखा परीक्षण गराउँदै सेवाग्राही । तस्बिरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन १८ गते । ताप्लेजुङमा एकसय ५४ जना मोतिबिन्दुका रोगीको शल्यक्रिया गरिएको छ । सदरमुकाम फुङ्लिङमा बुधबारदेखि सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरमा सो सङ्ख्यामा मोतिबिन्दुका रोगीको आँखा शल्यक्रिया गरिएको हो ।

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको प्रत्यक्ष संलग्नामा मोतिबिन्दु भएका आँखाका रोगीको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको आयोजना तथा तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो । 

नेत्रज्योति सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालित आँखा शिविरमा बालबालिकादेखि ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ शाखाका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार मोतिबिन्दु भएको आँखाका विरामीको निःशुल्क शल्यक्रिया गरिएको हो । 

उहाँका अनुसार बिहीबार १०२ जना र शुक्रबार ५२ जना आँखाका विरामीको शल्यक्रिया गरिएको छ । मोतिबिन्दुको शल्यक्रिया गरिएका विरामीलाई चस्मा र आवश्यक औषधी पनि निःशुल्क वितरण गरिएको नेत्रज्योति सङ्घ शाखाका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाममा सञ्चालित आँखा शिविरलाई लक्षित गरी गाउँ–गाउँमा पुगेर मोतिविन्दु भएका रोगीहरुको छनोट गरिएको थियो । 

जिल्लाको मैवाखोला र मिक्वाखोला गाउँपालिकामा घुम्ती शिविर सञ्चालन गरी मोतिविन्दुका रोगीको पहिचान गरिएको थियो । घुम्ती शिविरमार्फत मोतिविन्तु पहिचान भएका रोगीलाई शिविरमार्फत निःशुल्क शल्यक्रिया सेवा प्रवाह गरिएको पनि नेपाल नेत्रज्योति सङ्घले जनाएको छ ।

शिविरमा जिल्लाभित्र र बाहिर पाँचथर तथा तेह्रथुम समेतबाट विरामीहरु आएर सेवा लिएको नेत्रज्योति सङ्घका शाखा सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो । सभापति गुरुङका अनुसार मोतिबिन्दु भएको रोगीहरुसहित एक हजार ३२७ जनाले आँखा परीक्षण गराएका छन् । आँखा परीक्षण गराउनेमा ५४६ पुरुष र ७८१ जना महिला छन् । उल्लेख्य सङ्ख्यामा बालबालिकाले पनि शिविरमा आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेको नेत्रज्योति सङ्घले जनाएको छ । 

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतको संलग्नता रहेकाले शिविरमा सेवा लिन आउनेहरुको सङ्ख्या यस पटक बढी भएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले बताउनुभयो । शिविरमा ठूलो सङ्ख्यामा सेवाग्राहीले सहभागिता जनाएका र सोहीअनुसार उनीहरुले आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेको गुरुङको भनाइ छ । आँखा शिविर आयोजकको भूमिकामा फुङ्लिङ नगरपालिका र सेवा फाउन्डेसन काठमाडौंसमेत रहेको थियो ।