• ६ जेठ २०८१, आइतबार

सभापति र उपसभापतिबिच बैठकपुस्तिका खोसाखोस

blog

महोन्याल गाउँपालिका –१ चोसेकाँडामा नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमितिको बैठकमा उपस्थित मुख्यमन्त्री कमलबहादुर शाह लगायत । तस्विरः चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), फागुन १८ गते । नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिको बैठकमा सभापति र उपसभापति बिच बैठकपुस्तिका खोसाखोस भएको छ ।

जिल्ला कार्यसमिति बैठकमा उपसभापति भीम बडूवालकोे बैठक पुस्तिकामा नाम नलेखेपछि सभापति नारायणदत्त भट्ट र उपसभापति बडूवालबिच बैठकपुस्तिका खोसाखोस भएको हो । 

बैठकपुस्तिका खोसाखोस हुँदा जिल्ला कार्यसमितिको बैठक स्थगित भएको छ । काँग्रेस जिल्ला कार्यसमितिको बैठक कैलालीको मोहन्याल गाउँपालिका–१ चोसेकाँडामा राखिएको थियो ।

उक्त बैठकमा आमन्त्रितको रुपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह रहनुभएको थियो । बैठक सुरु नहुँदै सभापति भट्ट र उपसभापति बडूवालबिच माइन्यूट खोसाखोस भएपछि विवाद उत्पन्न भएको छ ।

आफ्नो नाम किन माइन्यूटमा उल्लेख नगरिएको भन्दै सभापति भट्टसँग उपसभापति बडूवाल झोक्किनु भएको थियो । बैठक सुरु नहुँदै बैठकपुस्तिका आफ्नो कब्जामा उहाँले लिनुभयो । जिल्ला अनुशासन समितिले अनुशासन कारबाहीका लागि प्रदेश अनुशासन समितिमा पत्र पठाएको हुँदा बडूवालको नाम बैठक पुस्तिकामा उल्लेख गर्न नसकिने सभापति नारायणदत्त भट्टले बताउनुभयो । 

जबसम्म प्रदेश अनुशासन समितिबाट पत्र आउँदैन, तबसम्म नाम माइन्यूटमा उल्लेख नगर्ने सभापति भट्टले बताउनुभयो । गत साउन २२ गते पार्टी सभापति नारायणदत्त भट्टले कैलाली क्षेत्र ४ का नेताद्वय लोकराज पाण्डे (आगो) र सुरतबहादुर कार्कीलाई कारबाही गरेपछि उपसभापति भीम बडूवालले कारबाही विधिसम्मत नभएको भन्दै लेटरप्याडमा अर्को सूचना जारी गरेको थियो । त्यसै दिनदेखि सभापति भट्ट र उपसभापति  बडूवालबिच खुल्ला रूपमा मतभेद सुरु भएको थियो । 

कैलाली जिल्ला अनुशासन समितिले भाद्र २६ गते उपसभापति बडूवालले जिल्ला कार्यसमितिको पत्र, चलानी नम्बर र छाप अनाधिकृत रूपमा प्रयोग गरेको भन्दै प्रदेश अनुशासन समिति सुदूरपश्चिम प्रदेशमा पत्र पठाएको थियो ।

यता उपसभापति बडूवालले यसअघि नै प्रदेश सभापति, उपसभापति जिल्ला सभापति आफू र अनुशासन आयोगका २ जना बसेर छलफल भएको विषयलाई पनि जिल्ला सभापतिले कार्यान्वयन नगरेको बताउनुभयो ।