काठमाडौं, फागुन १८ गते । प्रहरीले वैदेशिक रोजगारीमा लाखौं रकम ठगी गर्ने दुई जना पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार चेक रिपब्लिक पठाउने भनी तीन लाख ८५ हजार रुपियाँ ठगी गर्ने २७ वर्षीय अशोक कार्की पक्राउ परेका छन् ।
स्थायी घर झापा गौरादह नगरपालिका वडा नं. ४ भइ हाल काठमाडौं बुढानिलकण्ठ बस्ने कार्कीले कृष्ण कुमार केसी समेत छ जनालाई चेक रिपब्लिक जान प्रतिव्यक्ति नौ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित कम्पनीमा मासिक तलब एक लाख रुपियाँ हुने भनी प्रलोभनमा पारेका थिए ।
यस्तै, युके पठाउने भनी दुई लाख रुपियाँ रकम लिइ सम्पर्क विहिन बनेका ३८ वर्षीय दामोदर पोखरेल पक्राउ परेका छन् ।
स्थायी घर प्युठान झिम्रुक गाउँपालिका वडा नं. ६ भइ हाल काठमाडौं तार्केश्वर बस्ने पोखरेलले सुवास गुरुङलाई युके जान छ लाख रुपियाँ लाग्ने र त्यहाँको एक कम्पनीमा मासिक तलब एक लाख रुपियाँ हुने विश्वास दिलाइ प्रलोभनमा पारेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।