• १२ साउन २०८१, शनिबार

रुपन्देहीको निर्माणाधीन चार लेन सडक अलपत्र

blog

रुपन्देहीको मर्चवार क्षेत्रमा पर्ने निर्माणाधीन चार लेनकाे सडक । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, फागुन १८ गते । अन्तर सरकारी निकाय बिचको समन्वय अभावमा रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको लाइफलाइन मानिएको चारलेनकाे सडक निर्माण अलपत्र परेको छ। सिंचाइ कार्यालय मातहत रहेको नहरका छेउछाउका रुख कटानमा वन कार्यालय र सिंचाइको समन्वय नहुँदा सडक अलपत्र परेको हो । 

कालोपत्रे गर्नका लागि तयारी अवस्थामा रहेको सडक रुख कटानमा भइरहेको ढिलाइले अलपत्र परेको छ । जसले गर्दा धुलाम्मे सडकका कारण स्थानीयले सास्ती खेपिरहेका छन्।

सडकको बिच भाग र किनारमा रहेका रुख कुन निकायले कटान गर्ने भन्ने खिचातानीले बेलबास–बेथरी–मर्चवार सडक अन्तर्गत बनगाई-सेमरा-खैराघाट खण्ड निर्माण अलपत्र परेको हो । रुख कटान गर्न जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय र डिभिजन वन कार्यालय, रुपन्देही पन्छिने गरेका छन् । 

यी कार्यालयले सङ्घबाट स्विकृत प्राप्तपछि मात्रै रुख कटान गर्ने जनाएपछि अहिले कालोपत्रेको काम रोकिएको छ । सडक निर्माणका लागि ठेक्का लिएको लुम्बिनी-अर्घाखाँची-बाबुल जेभीले गुरवानियादेखि मर्चवारको मर्यादपुरसम्म सडक पिच गर्नका लागि तयारी थालेको महिनौं भइसकेको छ । तर सडकको बीचमा रहेका रुखका कारण असफाल्ट कङ्क्रिटको काम हुन सकेको छैन ।

वर्षाैंदेखि स्तरीय सडक नहुँदा ओझेलमा पर्दै आएको मर्चवारलाई जिल्लाका भैरहवा, बुटवल लगायतका सहरसँग सहज मार्गले जोड्न चार लेन सडक निर्माण भइरहेको हो । "दुई वर्षदेखि कालोपत्रेका लागि तयारी रहेको सडक रुख कटान नहुँदा काम रोकिएको छ", मर्चवारका स्थानीय गुरुवचन यादवले भन्नुभयो, "सरकारी निकायबाटै यतिसम्म लापरबाही हुँदा हामीले दुःख पाइरहेका छौं ।"

बेलबासबाट बेथरीसम्म निर्माण पूरा भएर सञ्चालनमा आइसकेकोे छ । रुख कटान नहुँदा भैरहवा–लुम्बिनी सडक खण्डको गुरवानियाबाट दक्षिण पाँच किलोमिटर पिच निर्माण प्रभावित भएको हो । सडक पूर्वाधार विकास कार्यालय, रुपन्देहीले २३ करोड १२ लाख ८९ हजार रुपियाँमा २०७७ कात्तिक १६ गते ठेक्का सम्झौता गरेर निर्माण सुरु भएको थियो । उक्त सम्झौता अनुसार २०८० बैंशाख ३१ सम्म यसको निर्माण सकिनुपर्थ्याे । उक्त अवधिमा निर्माण पूरा नभएपछि सडक डिभिजन कार्यालयले एक वर्ष म्याद थप गरेको थियो ।

यस अवधिमा पनि सडक क्षेत्रमा रहेका ११७ वटा रुख कटान नभएपछि निर्माण प्रभावित भएको हो । निर्माण कम्पनीले पटकपटक आग्रह गर्दासमेत रुख कटान नभएको भन्दै अझै ढिलाइ गरे अहिलेकै अवस्थामा सडक कालोपत्रे गर्ने चेतावनी दिएको छ । "हामीले सबैतिर धायौं, कतैबाट सुनुवाइ भएको छैन’, लुम्बिनी–अर्घाखाँची–बाबुल जेभीका प्रबन्ध निर्देशक तौफिक खानले भन्नुभयो, ‘ढिलासुस्ती धेरै भयो । अब यत्तिकै पिच गर्ने तयारीमा छौं ।"

निर्माण कम्पनीका अनुसार प्रदेश अन्तर्गत रहेको सडकको अहिलेसम्म ७५ प्रतिशत काम पूरा भइसकेकोे छ । अहिलेसम्म ५८ प्रतिशत रकम भुक्तानी भइसकेको छ । पूर्व मन्त्रीसमेत रहनुभएका स्थानीय बासिन्दा ओमप्रकाश यादवका अनुसार यो सडक मर्चवारको ‘लाइफलाइन’ हो । उहाँले उत्तर चुरे क्षेत्रलाई भारतीय सीमासित जोड्ने भएकाले सडक निर्माणपछि मर्चवारका बासिन्दाको जीवनस्तरमा परिवर्तन आउने बताउनुभयो । उहाँका अनुुसार अहिले वनगाईबाट मर्यादपुरसम्म पहिलो खण्डको काम भइरहेको छ । यसपछि मर्यादपुरबाट खैराघाटसम्म चार लेन निर्माणको योजना छ ।

वन डिभिजन कार्यालयले रुखको स्वामित्व आफू मातहत नरहेकाले कटान गर्न नसकिएको जनाएको छ । कार्यालयका अनुसार यी रुख मर्चवार लिफ्ट सिंचाई योजना अन्तर्गत नहरको क्षेत्राधिकारभित्र छन् । त्यसैले रुखको स्वामित्व सिंचाई विभाग अन्तर्गत छ । वन अधिकृत दीपक केसीले सिंचाइ विभागले रुख कटान गरिदिन भनेर लेख्ने बित्तिकै हटाउन सकिने बताउनुभयो ।

प्रदेश सभा सदस्य वसिउद्दिन खानले सडकका बीचमा रहेका रुख हटाउन धेरै पटक आग्रह गर्दासमेत बेवास्ता हुँदै आएको बताउनुभयो ।