• १२ साउन २०८१, शनिबार

‘मेरो कोरियन साथी’ शब्दकोष लोकार्पण

blog

‘मेरो कोरियन साथी’ शब्दकोष पुस्तकको विमोचन गरिँदै । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, फागुन १८ गते । पश्चिम नेपालमा पहिलो पटक स्थानीयस्तरमा कोरियन भाषाको शब्दकोष विमोचन गरिएको छ । बिहीबार एक कार्यक्रमबिच लामो समयदेखि कोहलपुरमा रहेर कोरियाली भाषा प्रशिक्षण गर्दै आउनुभएका प्रशिक्षक भोपेन्द्र कवरद्वारा लिखित ‘मेरो कोरियन साथी’ शब्दकोष विमोचन गरिएको हो । 

विगत एक दशक यता कोहलपुरमा संघर्ष गर्दै आउनुभएका कवरले पश्चिम नेपालमै पहिलो पटक कोरियाली भाषाको शब्दकोष सार्वजनिक गर्नुभएको बताइएको छ । कवरले बाँकेमै २२ हजारभन्दा बढी कोरियाली शब्दहरु कण्ठस्थ गरी करिब दश हजारभन्दा बढी शब्द शब्दकोषमा समेटिएको छ । शब्दकोषको एबिसी एजुकेसन सेन्टरका सञ्चालक तथा कोरियाली भाषा प्रशिक्षक रामकृष्ण चौधरीले विमोचन गर्नुभयो । 

सो अवसरमा चौधरीले शब्दकोष निकै उपयोगी रहेको बताउनुभयो । वैदेशिक रोजगारको गन्तव्यका रूपमा रहेको दक्षिण कोरिया जान भाषा अध्ययनमा शब्दकोष निकै उपयोगी र सरल रहेको चौधरीले बताउनुभयो । ‘यो पुस्तक पश्चिम नेपालमै पहिलो पटक प्रकाशन गरिएको छ । यो शब्दकोष विद्यार्थीको लागि निकै उपयोगी छ । यसले विद्यार्थीलाई भाषा पढ्न र कण्ठस्थ गर्न निकै उपयोगी हुने अपेक्षा छ’ उहाँले भन्नुभयो ।

इपिएस टपिक २०२१ को नयाँ पाठ्यक्रममा आधारित १ देखि ६० सम्मका प्रत्येक पाठका सम्पूर्ण समानार्थी, विपरीतार्थी, व्याकरण, शब्दार्थ, कोरियाली उच्चारणसहित समेटिएको मेरो कोरियन साथी शब्दकोष पुस्तक कोरियाली भाषा अध्ययन गर्ने सबैका लागि उपयोगी हुने लेखक कवरले बताउनुभयो । 

पुस्तकमा समानार्थी र विपरीतार्थी शब्दहरु छुट्टाछुट्टै समेटिएको छ । उहाँले यो पुस्तकबाट कोरिया जानका लागि भाषा अध्ययन गर्ने विद्यार्थीका लागि सहयोगी हुने अपेक्षा राखेको बताउनुभयो ।

लेखक कवर लामो समयदेखि शिक्षण पेसामा आबद्ध रहँदै आउनुभएको छ । कवरसँग करिब एक दशक विभिन्न शैक्षिक संस्थामा शिक्षण गरेको अनुभव छ । उहाँका आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशन क्रममा छन् । उहाँका बेसिक कोरियन बुक, सरल अङ्ग्रेजी भाषा बेसिक, सरल अङ्ग्रेजी  भाषा, सरल उद्घोषण कला, गजल सङ्ग्रह प्रकाशनको तयारीमा छन् ।