• २ जेठ २०८२, शुक्रबार

ऊर्जामा सहायता बढाउन विद्युत प्राधिकरणको आग्रह

blog

काठमाडौं, फागुन १८ गते । नेपाल विद्युत प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तराष्ट्रिय विकास साझेदारहरुलाई आग्रह गरेको छ । 

नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, युरोपेली सङ्घ, विश्व बैंक र एसियाली विकास बैंकलाई नेपालको विद्युत्, उत्पादन, प्रसारण र वितरणको विस्तार र सुधारका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले प्राधिकरणले सहायता बढाउन आग्रह गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी पाँच देखि छ वर्षमा १२–१३ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी आवश्यक रहेको बताउनुभयो। 

घिसिङले भन्नुभयो, “विद्युत उत्पादन बढाउन र प्रणालीको विस्तार तथा सुदृढीकरणका लागि आगामी आगामी पाँच - छ वर्षमा विद्युत् उत्पादनतर्फ छ अर्ब डलर, प्रसारणतर्फ पाँच अर्ब र वितरणतर्फ दुई अर्ब डलरभन्दा बढी चाहिन्छ ।”  देशभित्र विद्युत खपत बढाउँदै छिमेकी देशहरुलाई बिक्री गर्ने पूर्वाधार तथा संरचना विस्तारका लागि ठूलो लगानी आवश्यक रहेको उहाँको भनाइ छ ।

विश्व बैंकका नेपाल, माल्दिभ्स तथा श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जेर्वोसले बैंकको नेतृत्वमा १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत अयोजनामा लगानी गर्ने विषय अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले आयोजना कार्यान्वयनका क्रममा वातावरणीय तथा सामाजिक सुरक्षणका व्यवस्था कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

एडिबीका नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले नेपालको ऊर्जा क्षेत्रमा विगत ५० वर्षबाट साझेदारी गरिरहेको उल्लेख गर्दै बैंकको नेतृत्वमा छ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा सन् २०२४ भित्रमा वित्तीय व्यवस्थापन गर्ने गरी काम भइरहेको बताउनुभयो । 

स्वीज राजदूत डानियल मिउली, विश्व बैंकका नेपाल, माल्दिभ्स तथा श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जेर्वोस, एसियाली विकास बैंक (एडिबी), नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा, युरोपेली सङ्घ, अमेरिकी सहायता नियोगलगायतका विकास साझेदारका प्रतिनिधिहरु सम्मिलित टोलीले बिहीबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ सूर्यवस्तीस्थित २२० केभी नयाँ बुटवल सबस्टेसनको शुक्रबार अनुगमन भ्रमण गरेको थियो । 

टोलीले सबस्टेसनको नियन्त्रण कक्षलगायतको अवलोकन भ्रमण गरी विद्युत प्रसारण र वितरणको अवस्थाका बारेमा जानकारी लिएको थियो ।