• १२ साउन २०८१, शनिबार

आयोजक मदन भण्डारी र आर्मी फाइनलमा

blog

सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : हक्की सङ्घ

काठमाडौँ, फागुन १८ गते । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी र विभागीय टोली त्रिभुवन आर्मी क्लब जनकपुरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार भएको सेमिफाइनल खेलमा आयोजक मदन भण्डारीले सुदूरपश्चिम प्रदेशलाई ४–३ गोलले हरायो । मदन भण्डारीकी सपना सिंह प्लेयर अफ दि म्याच हुनुभयो । अर्को सेमिफाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई ६–० गोलले हरायो । आर्मीकी सीमा खड्का प्लेयर अफ दि म्याच हुनुभयो ।


मदन भण्डारी र आर्मीबीचको फाइनल खेल आइतबार हुने नेपाल हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुहयो । सेमिफाइनलमा पराजित सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । 


फागुन १४ गतेदेखि सुरु भएको प्रतियोगितामा कर्णाली प्रदेशबाहेकका ६ प्रदेश, त्रिभुवन आर्मी क्लब तथा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी गरी आठ टोलीको सहभागिता थियो । 


प्रतियोगिताको विजेता टोलीलाई एक लाख ५० हजार रुपियाँ, उपविजेतलाई एक लाख रुपियाँ तथा तृतीय हुने टोलीलाई ५० हजार रुपियाँ नगद प्रदान गरिने छ । यस्तै उत्कृष्ट खेलाडीलाई १० हजार र प्लेयर अफ दि म्याचलाई पाँच हजार रुपियाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।