• ४ जेठ २०८१, शुक्रबार

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन १८ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताउनुभएको छ । 

काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको सातौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदमा पनि नभएको र पार्टी पनि नभएको व्यक्ति असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडिरहेको बताउनुभयो । संसदमा नभएको व्यक्तिलाई प्रधानमन्त्री बन्न मिल्ने प्रावधान संविधानमा नरहेको पनि उहाँको भनाइ छ । 

उहाँले राष्ट्रिय पार्टी नबनेको पार्टीको मानिस प्रधानमन्त्री बन्छु भन्दै हिँडेको भन्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालप्रति व्यङ्ग्य गर्नुभयो । उहाँले एमाले जिम्मेवारी र इतिहास बोकेको पार्टी भएको बताउँदै देश बनाउने भिजन बोकेको पार्टी भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ, को हुँदैन भन्न सकिने अवस्था छैन । यहाँ त संसदमा पनि नभएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे, असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँडेको देख्छु ।’

एमाले इतिहास बोकेको, देश बनाउने भिजन बोकेको पार्टी भएको उहाँले दावी गर्नुभयो । अध्यक्ष ओलीले कोभिड १९ का कारण देशको अर्थतन्त्र अधोगतिमा नझरेको बताउनुभयो ।