प्रेमराज सिम्खडा
कालीकोट, फागुन १८ गते । कालीकोटको शुभकालिका गाउँपालिका –६ मा रहेको कर्णाली कोपिला स्याहार सुसार केन्द्रमा अनियमित्ता भएको आरोप लागेको छ ।
आर्थिक बर्ष २०७९–८० मा गाउँपालिकाले सिधै ३० लाख दिएर स्थापना गरेको स्याहार सुसार केन्द्र दर्ता गर्दा १५ लाख खर्च भएको सञ्चालक समितिले रकम दुरुपयोग भएको आशंका गरेको हो ।
स्याहार केन्द्रमा लक्ष्यअनुसारका अनाथ बालवालिका नरहेको र एकै पटक ३० लाख खर्च गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयको टोलीले त्यस बिषयमा अनुसन्धान थालेको छ ।
सञ्चालक समितिका अध्यक्ष जगत चौलागाई हुनुहुन्छ । यो आर्थिक वर्षमा पनि गाउँपालिकाले १५ लाख वजेट बिनियोजन गरेको छ । स्याहार सुसार केन्द्रमा रहेका ११ जना बिद्यार्थी चन्द्रसूर्य माध्यमिक बिद्यालयमा अध्ययन गर्दैआएका छन् । वर्षमा ३० लाख खर्च गर्ने हो भने राम्रो बिद्यालयमा पढाउन सकिने स्थानीयको प्रतिक्रिया छ ।
स्याहार सुसार केन्द्रले बालवालिकालाई सरकारी बिद्यालयमा पढाइरहेको छ । यता राज्य कोषबाट वार्षिक ३० लाख भुक्तानी पनि लिरहेको छ । वडा –६ का पूर्व अध्यक्ष कर्णवहादुर केसीले अनाथ बालवालिकाको नाममा केही निश्चित मान्छेले आफ्नो भबिश्य बनाइरहेको बताउनुभयो ।
उहाँले अरु हामीलाई चासो केही होइन, वर्षमा १५ देखि ३० लाख खर्च गर्ने हो भने काठमाडौंका राम्रै नीजि बिद्यालयमा अनाथ बालवालिकालाई पढाउन सकिन्छ । तर धुलोमा राखेर राज्य कोषको १५ लाख अर्च गर्नु भ्रष्टाचार भएको बताउनुभयो । निजी बिद्यालयलाई एक लाख २० हजार दिने हो भने एक वर्षमा खाना बस्न र पढ्न पुग्ने उहाँले बताउनुभयो ।
रकम दुरुपयोग भएको बिषयमा गाउँपालिका भने सहमत छैन । शुभकालिका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशवहादुर शाहीले दर्ता मात्र नभएर सबै खर्च गत आर्थिक वर्षमा २८ लाख भएको बताउनुभयो । उहाँले दर्ता मात्र होइन, दर्ता, सामानको मूल्य र वच्चाको खाना वस्नेगरी २८ लाख खर्च भएको र सो वजेट भुक्तानी भएको सुनाउनुभयो ।
असारमै दर्ता असारमै कसरी २८ लाख खर्च भयो ? स्थानीयले प्रश्न गर्दैआएका छन् । एक महिनामा ३० लाख खर्च गर्ने, सरकारी बिद्यालयमा पढाएर अनाथ बालवालिकाको भबिश्य बिगार्नुबाहेक अरु केही नभएको स्थानीयको भनाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र सुर्खेतका सूचना अधिकारी रत्नचन्द्र गौतमले उजुरी परेपछि नियमित स्थलगत अनुगमनका हिसावले टोली एक पटक पुग्ने गरेकाले कर्णाली कोपिला स्याहार सुसार केन्द्रसम्म पुगेको बताउनुभयो ।
शुभकालिका पुगेको टोलीले गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र कर्णाली कोपिला स्याहार सुसार केन्द्रका अध्यक्षलाई मात्र भेटेर सेटिङ गरेर गएको स्थानीयले आरोप लगाएका छन् । कोपिला स्याहार सुसार केन्द्र स्थलगत अनुगमनका लागि शुभकालिका पुगेको अख्तियार टोलीका दिपक महतले समान खरिद गरेको के कति छ त्यसको मुचुल्का गरेर गएको बताउनुभयो ।
कर्णाली कोपिला स्याहार केन्द्रका अध्यक्ष जगत चौलागाईले आशंका गर्नु स्वभाबिक भएको बताउनुभयो । कालीकोटमा अनाथ बालवालिकाको उद्धारका साथै पठनपाठनका लागि कोलिएका केही अनाथलय वजेट नपाएर सञ्चालकले घर खेत बेच्नुपरेको बेला शुभकालिका गाउँपालिका –६ मा भने कर्णाली कोपिला स्याहार सुसार केन्द्रले बालवालिकालाई सरकारी बिद्यालयमा पढाएर राज्यको लाखौं रकम हजम गरिरहेको स्थानीयको गुनासो छ ।