काठमाडौं, फागुन १८ गते । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्ले प्रस्ताव गरेको बजेट सरकारले बिना हिच्किचाहट विनियोजन गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबारको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले संसद्ले प्रस्ताव गरेको बजेटलाई सिलिङ तोकेर विनियोजन गर्नु नहुने बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले सरकारले आर्थिक अवस्थालाई ध्यान दिने हो भने पनि संसदसँग सल्लाह र छलफल गरेर सहमतिका आधारमा केही तलमाथि गर्न सकिने स्पष्ट पार्नुभयो ।
उहाँले अरु सबै प्रक्रिया रोक्नसके पनि संसदीय प्रक्रियालाई रोक्न नमिल्ने भएकाले सरकारले संसदको बजेट प्रस्तावअनुसार विनियोजित गर्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीहरुले बढी समय काम गरेको कुरालाई पारिश्रमिकमा नियन्त्रण गर्न नहुने बताउनुभयो ।
‘‘हाम्रो जोड जहिले पनि के हो भने संसद्ले प्रस्ताव गरेको बजेट सरकारले बिना हिच्किचाहट विनियोजन गर्नुपर्छ । उसले सिलिङ भनेर तोक्ने होइन । सरकारको अहिलेको आर्थिक अवस्थाले कमी हुन्छ भने बसेर केही तलमाथि गर्न सकिन्छ । छलफल गरेर मात्रै । अरु सबै कुरा रोकेर पनि संसदीय प्रक्रिया रोक्न सकिँदैन ।,’’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘‘पैसा पुगेन विधेयक निर्माण प्रक्रिया रोकौँ भनेर सम्भव हुँदैन । त्यसैले सडक बरु घटाउन सकिन्छ, खानेपानीका योजनाहरु केही कम गर्न सकिन्छ । अर्को वर्ष गर्न सकिन्छ । तर संसदका गतिविधि घटाउन सकिँदैन । विधेयक पास गर्ने कुरा कम गरौँ भनेर हुँदैन । यहाँका लागि बजेट आवश्यक हिसावले गर्नुपर्छ । रातदिन काम गर्दा कर्मचारीले पाउने सेवा सुविधा नियन्त्रण गर्नुहुँदैन । ओभर टाइममा काम हुन्छ भने त्यो अनुसारको पारिश्रमिक दिनुपर्छ । हामीले प्रयास गरिरहेका छौँ । आगामी बजेटबाट त्यो पूरा होला ।’’
मन्त्रीहरुले दिएका आश्वासन मन्त्रीहरुलाई स्मरण गराउन समिति जागरुक हुनुपर्ने बताउनुभयो ।