• ४ जेठ २०८१, शुक्रबार

'गठबन्धन टुट्दैन'

blog

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा । फाइल तस्बिर

वसन्त पराजुली
भरतपुर, फागुन १८ गते ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी)सँगको गठबन्धन नतोडिने बताउनुभएको छ । भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन शुक्रबार चितवन आउनुभएका सभापति देउवाले पार्टीहरु बिचमा टिकाटिप्पणी र आलोचनाहरु भए पनि गठबन्धन नतोडिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “ढुक्क हुनुस् गठबन्धन तोडिदैन ।”

“पार्टीले आलोचना गर्न पाउनुपर्छ  । उहाँहरुको र हाम्रो पार्टी नै फरक हो । फरक पार्टीमा आलोचना त गर्न पाइन्छ नि”, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार चितवनमा कांग्रेसप्रति गर्नुभएको तिखो आलोचनाका सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा सभापति देउवाले प्रधानमन्त्री प्रचण्डले भने जसरी कांग्रेस महासमिति बैठकले कुनै पनि अनावश्यक निर्णय नगरेको दाबी गर्नुभयो ।  “कांग्रेसले केही पनि अनावश्यक निर्णय गरेको छैन”, उहाँको स्पष्ट पार्नुभयो ।

नेकपा (माओवादी)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले बिहीबार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस महासमिति बैठकले माओवादीसँग चुनावी एकता नगर्ने, जनयुद्ध र  धर्मनिरपेक्षतामा अनावश्यक निर्णय गरेर बेमौसमी बाजा बजाएको आरोप लगाउनुभएको थियो ।

सभापति देउवाले राष्ट्रिय सभाको अध्यक्ष पदमा आफ्ना नेता कृष्णप्रसाद सिटौलालाई लैजाने सम्बन्धमा गठबन्धन दलहरु बिचमा विवाद नरहेको पनि स्पष्ट पार्नुभयो ।

“सिटौलाजीलाई राष्ट्रियसभा अध्यक्षमा लैजाने सवालमा सल्लाह भइरहेको छ । गठबन्धन दलहरु बिचमा सहमतिमै उहाँलाई अगाडि सार्ने हो ।  एक पटक त सहमत भइसकेको छ फेरि हुन्छ”, उहाँले भन्नुभन्नुभयो । 

सिटौलालाई अध्यक्ष बनाउने सवालमा माओवादी लगायतका दलहरुको सहयोग हुने विश्वास पनि उहाँको छ । आफ्ना उमेदवारलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सवालामा माओवादीले एमालेसँग गरिरहेको छलफल तथा वार्ता आफूलाई जानकारीमा नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।