• १२ मंसिर २०८१, बुधबार

५४ प्रतिशतले छाडे तीलगाउँ

blog

आधाभन्दा बढी घरधुरीले गाउँ छोडेको तीलगाउँ । फाइल तस्बिर

राजन रावत
हुम्ला, फागुन १८ गते ।
नाम्खा गाउँपालिका– ६ को हिमालपारिको लिमीको तीलगाउँका ५४ प्रतिशतभन्दा बढीले गाउँ छोडेर गएको पाइएको छ । गाउँमा भन्दा शहरमा व्यापार व्यवसाय गर्न सहज हुने भएपछि गाउँ छोड्ने क्रम बढेको हो । पछिल्लो १० वषयता ५४ प्रतिशतभन्दा बढीले तीलगाउँ छाडेका छन् ।

तीलगाउँका स्थानीय छिरिङ क्याम्ने तामाङले १० वर्षयता गाउँ छोडेर काठमाडौं जाने ५४.५४ प्रतिशत रहेको बताउनुभयो । उहाँले शहर जाने क्रम बढेको जानकारी दिनुहुँदै यसले गाउँ रित्तिने चिन्ता थपिएको बताउनुभयो ।

पहिला फाट्टफुट्ट तीलगाउँका मानिस व्यापारको सिलसिलामा काठमाडौं र भारतको दिल्ली जाने र छ महिनामा गाउँ फर्कने गरेका थिए । तर अहिले गाउँनै नफर्किने गरेको पाइएको छ ।

उहाँले गाउँमा बस्ने पनि बुढाबुढी, अपाङ्गता भएका व्यक्ति र एक दुई जना बालबालिका मात्र रहेको बताउनुभयो ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले तीलगाउँमा ४४ घरधुरी रहेकोमा हाल २० घरधुरीले मात्र बसोवास गरिरहेको बताउनुभयो । उहाँले १० वर्षयता तीलगाउँ छोडेर जाने सङ्ख्या २४ पुगेको बताउनुभयो । वर्षेनी दुईदेखि तीन घरधुरीले गाउँ छोड्ने गरेको उहाँको भनाइ छ ।

गाउँका अघिकांश घरमा ताला लागेको छ भने जग्गा बाँझिएको छ । उहाँले गाउँमा बढी दुःख हुने तर सुख नहुने निष्कर्षले गाउँ छोड्ने तीलगाउँवासीको  भनाइ छ । उहाँले खाद्यान्न, लत्ताकपडालगायत सबै सामानहरु बाहिरबाट बोकेर ल्याउनुपर्ने बाध्यताले पनि गाउँ छोड्ने बढिरहेको बताउनुभयो ।