• १३ साउन २०८१, आइतबार

रिब्दिकोटका ६५ जना विपन्न समुदायलाई स्वास्थ्य बिमा

blog

रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्की ६५ जना विपन्न समुदायको स्वास्थ्य बिमा गरिदिनुहुँदै । तस्बिर : बिन्दु थापा

बिन्दु थापा
पाल्पा, फागुन १८ गते ।
रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले गाउँपालिकाबाट प्राप्त हुने सेवा सुविधाको रकमबाट ६५ जना विपन्न समुदायको  स्वास्थ्य बिमा गरिदिनुभएको छ ।

तीन हजार पाँच सय रुपियाँ तिरेपछि पाँच जनासम्मको परिवारले स्वास्थ्य बिमाबाट उपचार गर्न पाउने भएकाले विपन्न वर्गलाई सहयोग पुग्नेगरी काम गरेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीले निर्वाचन अघि नै आफुले गाउँपालिकाबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेको र सोही अनुसार बिमा गर्न सहयोग गरेको बताउनुभयो ।

यसैगरी, रिब्दीकोट गाउँपालिकाले पालिकाभित्रका श्रमिकलाई पोसाकसहित सम्मान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आठ वटै वडाका श्रम गरेर जिविकोपार्जन गर्नेहरुलाई  गाउँपालिकामा भेला गराएर  पोसाक दिएर सम्मान गरेको हो ।

पालिकाले ६८ जना श्रमिकलाई सम्मान गरेको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिनुभयो । ख्याहाका १०, देउरालीका २०, खस्यौलीका १२, भैरवस्थानका आठ, कुसुमखोलाका तीन, ठिमुरेका सात, पालुङमैनादीका चार र फेकका चार जनालाई सम्मान गरिएको छ ।  गाउँमा विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकलाई यसरी सम्मान गर्दा काम गर्नमा आत्मसम्मान बढ्ने अध्यक्ष कार्कीले बताउनुभयो  ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले काम गर्ने तर बचत नगर्ने  मदिरा सेवन गरेर घर परिवारसँग झैँ(झगडा गर्न बानी छुटाउनका लागि परामर्शसमेत दिइएको जानकारी दिनुभयो । मदिरा सेवन गर्ने, कमाएको रकम बचत नगर्ने र विपन्न वर्गका श्रमिकलाई मदिरा सेवनबाट हुने हानी नोक्सानीका साथै बचत गर्ने बानीको विकास गर्न सचेतना तथा सम्मान कार्यक्रम राखेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताउनुभयो  ।