राधा लुइटेल
फिदिम, फागुन १८ गते । फिदिम नगरपालिकाको सभा हलमा मङ्गलबार सार्वजनिक कार्यव्रmम चलिरहेको थियो । नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र आमन्त्रित अतिथि अग्रभागमा हुनुहुन्थ्यो । सामुन्नेमा विद्यालयका प्रधानाध्यापक, कर्मचारी र सञ्चारकर्मीसँगै वडाध्यक्षको ठाउँ व्यवस्थापन गरिएको थियो । अध्यक्षता गरेका नगर प्रमुख मित्रप्रसाद काफ्ले अगाडि ट्याबलेट राखेर स्व्रिmन तलमाथि गर्दै सारिरहनु भएको देखिन्थ्यो । त्यही बेला काफ्लेले वडा नम्बर ९ को लुम्फाबुङ माविका शिक्षकलाई आफू भएको स्थानमा बोलाएर हेर्नुस् त तपाईंको स्कुल भन्दै ‘ट्याबलेट’ अगाडि फर्काइदिनुभयो ।
विद्यालयको कार्यालयमा शिक्षक मोबाइल हेर्न व्यस्त हुुनुका साथै कक्षाकोठामा विद्यार्थी असरल्ल बसिरहेको दृश्यले सबैलाई तान्यो । स्कुललाई व्यवस्थित गराउनुस् है भन्दै काफ्लेले शिक्षकलाई पूर्ववत् स्थानमा फर्काइदिनुभयो ।
शिक्षा सुधारका लागि भन्दै फिदिम नगरपालिकाले नगर क्षेत्रका २० वटा माध्यमिक विद्यालयमा सिसी क्यामेरा जडान गरेर कार्यालयबाटै यसरी नै निगरानी गरिरहेको छ । हरेक माध्यमिक विद्यालयमा चार वटाका दरले सिसिटिभी क्यामरा जडान गरिएको शिक्षा शाखा प्रमुख निर्मला दाहालले बताउनुभयो ।
विद्यालयमा हुने नियमित गतिविधिको अनुगमनसँगै सम्भावित अवाञ्छित घटना न्यूनीकणका लागि भन्दै नगर पालिकाले विद्यालयमा सिसी क्यामरा जडान गरेको हो । जडान गरिएका सिसी क्यामराको निगरानी शिक्षा शाखा, पालिका प्रमुख र उपप्रमुखका मोबाइलबाट हेर्ने प्रावधान मिलाइएको छ ।
यसरी जोडिएका सिसी क्यामरा यसै सातादेखि सञ्चालनमा आएका छन् । “शिक्षाको गुणस्तर सुधार गर्न निकै मेहनत गर्नुपर्ने देखियो, त्यसैले आधुनिक प्रविधिको प्रयोग गरी विद्यालयको नियमित अनुगमन गर्ने सुरुवात गरिएको हो,” काफ्लेले भन्नुभयो । योसँगै सबै विद्यालयमा ई हाजिरी जडान गरिएको पनि उहाँले बताउनुभयो ।
यसअघि वडाध्यक्षहरूले शिक्षकले आफूहरूलाई नटेर्ने गरेको गुनासो गर्दै आएका थिए । सिसी क्यामरा जडानका लागि आठ लाख ८५ हजार खर्च भएको नगरपालिकाले जनाएको छ । उद्घाटन कार्यक्रममा पाँचथरका प्रमुख जिल्ला मेखबहादुर मङ्ग्रातीले विद्यालयको अनुगमनका साथै विद्यालय परिसरमा हुने अरू खाले गतिविधि पनि निगरानी तथा अनुसन्धान गर्न सिसिटिभी क्यामरा सहयोगी हुने धारणा राख्नुभयो । सिसिटिभी क्यामरा जडानपछि नगरपालिकाबाट आफूहरूलाई हेरिरहने भएकाले शिक्षकलाई थप जिम्मेवार बनाउन सहयोग पुग्ने फिदिम माविका प्रध्यानाध्यापक विनोद ठाकुर बताउनुहुन्छ ।