• ५ जेठ २०८१, शनिबार

बागमती प्रदेशसभा बैठक आज बस्दै

blog

बागमती प्रदेशको प्रदेश सभा सचिवालय भवन । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, फागुन १७ गते ।
बागमती प्रदेश सभाको बैठक बिहीबार बस्दै छ । बुधबार बिहानका लागि बोलाइएको बैठक बस्न नसकेपछि सूचना टाँस गरेर बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।

प्रदेश सभाको बुधबार बिहान ११ः३० बजेका लागि बोलाइएको बैठक प्रदेश सभामा प्रतिनिधि गर्ने दलबिच सहमति जुट्न नसकेपछि बिहीबार बिहान ११ः३० बजेका लागि बोलाइएको हो ।

प्रदेश सभाको बैठकका लागि तोकिएको समयभन्दा अगाडि प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा प्रदेश सभाको बस्ने बारेमा भएको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायतका विपक्षी दलहरुले सरकारले बजेट निर्माणका क्रममा गरेका सहमति कार्यान्वयन गर्न माग गरेका थिए ।

सर्वदलीय बैठकमा विपक्षी दलहरुले सहमति कार्यान्वयन नभएसम्म प्रदेश सभाको बैठक बस्न नसक्ने र मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अनुपस्थिति थप कुरा नगर्ने बताएपछि सर्वदलीय बैठकमा समेत सहमति जुट्न सकेको थिएन ।

मुख्यमन्त्री जम्कट्टेल भने मकवानपुरको राक्सिराङ गाउँपालिका ९ स्थित एक विद्यालयको कार्यक्रममा सहभागी हुन पुग्नु भएकाले सर्वदलीय बैठकमा अनुपस्थिति रहेकाले विपक्षी दलले बैठकमा थप कुरा गर्न नसक्ने जनाएका थिए ।

प्रदेश सभाका सचिव कृष्णहरि खड्काले प्रदेश सभाको बैठक विशेष कारणले स्थगित भएको सूचना जारी गर्दै बुधबारको बैठक विशेष कारणबस बिहीबार बिहान ११ः३० बजे बस्ने गरी सभामुखले समय निर्धारण गर्नुभएको जानकारी गराउनुभयो ।

उता नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले प्रदेश सभा बैठक सञ्चालनका लागि सहमति बनाउन बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको जानकारी दिनुभयो । उहाँले विपक्षी दलहरुले विगतमा भएको सहमति कार्यान्वयन गर्न माग गर्दै आएको र अझै कार्यान्वयन नभएको बताउँदै बैठकमा सहमति जुट्न नसकेपछि प्रदेश सभाको बैठक बस्न नसकेको बताउनुभयो । बागमती प्रदेश सभाको तेस्रो अधिवेशन मङ्गलबारबाट सुरु भएको हो ।